अमेरिकी दूतावासले भन्यो- हाम्रो अनुदानले आफ्नो रोजाइको धर्म अपनाउने क्षमताको प्रवर्द्धन गर्छ

काठमाडौं । नेपालमा हिन्दू–बौद्ध धर्मप्रति अनास्था फैलाउन करोडौँ डलर खर्च गरेको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावासले प्रतिक्रिया जनाएको छ । नेपाल प्रेसमा समाचार प्रकाशित भएपछि दूतावासको ध्यानाकर्षण भएको हो ।

दूतावासले नेपाल प्रेसलाई पठाएको लिखित नोटमा अमेरिकाले कुनै निश्चित धार्मिक विश्वास, दर्शन वा सिद्धान्तलाई प्रवर्द्धन नगर्ने बताइएको छ ।

अमेरिकी विदेश मन्त्रालयका कार्यक्रमले सबै व्यक्तिहरूको दुर्व्यवहार, विभेद र हिंसाबाट मुक्त रही आफ्नो रोजाइको धर्म वा विश्वास ग्रहण गर्न वा अपनाउन सक्ने क्षमतालाई प्रवर्द्धन गर्ने उल्लेख छ । नेपालमा धार्मिक अल्पसंख्यकको हित प्रवर्द्धनमा सहयोग गरिरहेको स्वीकारोक्ति दूतावासले गरेको छ ।

दूतावासको लिखित प्रष्टीकरण जस्ताको त्यस्तैः

अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन पारित भएको २५ वर्षभन्दा लामो समयदेखि अमेरिकी सरकार संसारभर सबै ठाउँका मानिसहरूको आ–आफ्नो सिद्धान्तअनुसार विश्वास गर्ने वा नगर्ने अधिकारका पक्षमा उभिएको छ ।

अमेरिकी विदेश मन्त्रालयको यस विश्वव्यापी अनुदानलाई सबै व्यक्तिको धार्मिक स्वतन्त्रताको प्रवर्द्धन र रक्षा गर्नका निम्ति तर्जुमा गरिएको थियो । यसमा त्यस्ता देशका सीमान्तकृत धार्मिक वा विश्वास समुदायका सदस्यहरू समेत पर्दछन् जहाँ उनीहरूले उत्पीडनको सामना गरिरहेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका कार्यक्रमहरूले कहिल्यै पनि कुनै निश्चित धार्मिक विश्वास, दर्शन वा सिद्धान्तहरूलाई प्रवर्द्धन गर्दैनन्स बरु तिनीहरूले सबै व्यक्तिहरूको दुर्व्यवहार, विभेद र हिंसाबाट मुक्त रही आफ्नो रोजाइको धर्म वा विश्वास ग्रहण गर्न वा अपनाउन सक्ने क्षमतालाई प्रवर्द्धन गर्दछन् ।

यस कार्यक्रमले दक्षिण एसियाका त्यस्ता स्थानीय संघसंस्था र समुदायहरूको क्षमता अभिवृद्धि गर्न मद्दत पुर्‍याएको छ जहाँ उनीहरूले आफ्नो विश्वासका कारण विभेद र सीमान्तीकरण भोगेका छन् ।

नेपालमा अमेरिकी सरकारको यस आर्थिक सहयोगले जातीय विभेद तथा बालविवाहविरुद्ध लड्ने र सबैको सहिष्णुता र पारस्परिक सम्मानका लागि वकालत गर्ने लगायतका कार्यमार्फत सीमान्तकृत विश्वास समुदायका सदस्यहरूको संरक्षण र उनीहरूका लागि पैरवी गर्ने प्रयासमा सहयोग गरेको छ ।

Comments

One response to “अमेरिकी दूतावासले भन्यो- हाम्रो अनुदानले आफ्नो रोजाइको धर्म अपनाउने क्षमताको प्रवर्द्धन गर्छ”

  1. BP Khanal, PhD Avatar
    BP Khanal, PhD

    एकथरी मान्छेहरू के निहुँ पाऊँ भनेर चियोचर्चो गर्नमा अभ्यस्त छन्, जब यिनीहरू देशमा कतै कसैले न्याय, समानता, उन्मुक्ति र प्रगतिशिलताको पक्षमा केही कोसिस गरेको भेट्टाउँछन्, रडाको शुरू हुन्छ। आफ्नो इँजार खुस्केको प्रवाह नगरीकन अर्कालाई खबरदारी गर्न सुहाउँदैन के! अल्पसंख्यक, पीडित-प्रताडित र सीमान्तीकृत वर्ग वा समुदायको हित हुँदा “हिन्दू” धर्मको क्षय भएको देख्ने यिनका मगजको उपचार जरुरी छ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *