सिन्धुपाल्चोक । नेकपा एमाले वागमती प्रदेश कमिटी सम्पर्क मञ्चहरुले एमालेको जिल्ला अधिवेशनमा प्रतिनिधि हुने व्यवस्था जिल्लापिच्छे फरक नियम लगाएका छन्।
नेकपा एमाले सिन्धुपाल्चोकको १० औँ जिल्ला अधिवेशनमा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चबाट सहभागी हुनका लागि १७ जना प्रतिनिधि छनोट भइसकेका थिए । एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ लगायत प्रदेश र जिल्लाका नेताहरु बसेर केही दिन अगाडि सम्पर्क मञ्चले प्रतिनिधि छनोट गरेको थियो ।
तर वागमती प्रदेश कमिटीले सम्पर्क मञ्चले जिल्ला अधिवेशनहरुमा प्रतिनिधि हुन नपाउने व्यवस्था विद्यानमा नरहेको भन्दै छनोट गरिसकेका प्रतिनिधिहरु सहभागी हुन नपाउने लिखित पत्र पठाएको छ ।
वागमती प्रदेश मातहत नै रहेको धादिङ र दोलखा जिल्लाको अधिवेशनमा भने सम्पर्क मञ्चहरुबाट प्रतिनिधि सहभागी गराइएको थियो । एमाले दोलखाको जिल्ला अधिवेशनमा प्रत्येक पालिकाबाट दुई जना र सम्पर्क मञ्चबाट अध्यक्ष उपाध्यक्षसहित पदाधिकारीहरु प्रतिनिधि भएर आएको एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताए ।
धादिङ जिल्ला पनि सम्पर्क मञ्चबाट प्रतिनिधिको व्यवस्था गरिएपनि सिन्धुपाल्चोकमा भने वागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुँगेलको ठाडो पत्रले छनोट भएका प्रतिनिधिहरु समेत जिल्ला अधिवेशनमा सहभागी हुन नपाउने भएका छन् ।
एमाले जिल्ला अधिवेशनमा सम्पर्क मञ्चहरुबाट समेत प्रतिनिधि जान पाउने र त्यही अनुसार प्रतिनिधि छनोट गर्न भनेपछि आफूहरुले सर्वसम्मत प्रतिनिधि छनोट गरेर पठाएको एमाले सिन्धु काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राजन आचार्यले जानकारी दिए ।
सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएपनि आफू अनुकुल प्रतिनिधि छनोट नभएको भन्दै एमालेका केही केन्द्रीय सदस्य र वागमती प्रदेश कमिटीका केही सदस्यहरुले एमाले केन्द्रीय संगठन विभागमा उजुरी गरेको र प्रतिनिधि खारेजका लागि वागमती प्रदेशलाई दबाब दिएको अध्यक्ष आचार्यले बताए ।
एमाले वागमती प्रदेश कमिटीकी उप–सचिव भक्तकुमारी लामाले भने आफूहरुसँग सल्लाह नगरी पत्र गएको र आफूलाई यो विषयमा केही जानकारी नभएको बताइन् । वागमती प्रदेशले सम्पर्क मञ्चबाट प्रतिनिधि सहभागी नगराउन भनेपछि अब आफूहरुले सहभागी नगराउने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।


Leave a Reply