एमालेले उम्मेदवार तय गरिसक्दा माओवादीलाई उपनिर्वाचनले किन छोएन ?

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनको सबै दलहरूले तयारी थाल्दा सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा अहिलेसम्म छलफल सुरू भएको छैन ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक एमालेले हिजोमात्र उम्मेदवारको नाम टुंग्याएको छ । उपनिर्वाचनमा पार्टीले के गर्ने भन्ने विषयमा अहिलेसम्म औपचारिकरूपमा कुनै छलफल नभएको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘अहिलेसम्म छलफल भएको छैन । उम्मेदवारी दर्ता गर्ने मिति आउन अझै बाँकी छ । केही दिनमा छलफल हुन्छ । त्यहीँबाट पार्टीले निर्णय गर्छ ।’

गठबन्धनको साझा उम्मेदवार बनाउने कि एक्लै उम्मेदवारी दिने भन्ने विषयमा छलफल चलिरहेको सचिव दिनानाथ शर्माले बताए ।

उनले भने- ‘अब केही दिनमा उपनिर्वाचनको विषयमा छलफल गर्ने कुरा छ । तर, अहिलेसम्म गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनाएर जाने या आफैं उम्मेदवार अघि सार्ने भन्ने कुनै निर्णय भएको छैन । अब पार्टीले निर्णय गर्ला ।’

उपनिर्वाचनमा प्रतिनिधि सभामा अन्तर्गत इलाम २ र प्रदेशतर्फ बझाङ (१) मा हुँदैछ । इलाम २ बाट निर्वाचित एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको थियो भने प्रदेशसभामा कांग्रेसको तर्फबाट बझाङका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर निधन भएको थियो ।

इलाममा एमालेको र बझाङमा कांग्रेसको लोकप्रिय मत भएकाले जनमत कमजोर भएकाले माओवादीले उपनिर्वाचनलाई चासो नदेखाएको बताइन्छ । एक्लै चुनाव लडेर जनमतको परीक्षण गर्न नेताहरूले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डसहित शीर्ष नेतालाई सुझाव दिइरहेका छन् ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक एमालेले इलाम २ मा सुवासका कान्छा छोरा सुहाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

गठबन्धनमा आबद्ध रवि लामिछाने नेतृत्वको रास्वपाले एक्लै लड्ने निर्णयसहित तयारी थालिसकेको छ । रास्वपाले कबिन्द्र बुर्लाकोटीलाई कमाण्डर बनाएर यसअघि नै खटाइसकेको छ । रास्वपाको तर्फबाट उम्मेवादर टुंग्याउन सभापति लामिछाने आफैँ इलाम जाँदैछन् ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि अन्य दलसँग छलफल अघि बढाउँदै उम्मेदवार सिफारिस गर्न पार्टी कमिटीलाई निर्देशन दिइसकेको छ ।

यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट पनि उम्मेदवार सिफारिस भइसकेका छन् । अब केन्द्रले टुंग्याउन बाँकी छ । राप्रपाले पनि आफ्नो उम्मेदवार उठाउने निर्णयसहित तयारी गरिरहेको छ ।

इलाम २ मा स्वतन्त्रदेखि पहिचानवादीको तर्फबाट समेत उम्मेदवारी घोषणा भइरहेको छ । यहाँ चैत २४ गते उम्मेदवारी दर्ता हुँदैछ ।

गत निर्वाचनमा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेसका डम्बरबहादुर खड्का २९ हजार ९०६ मत मात्रै ल्याएका थिए । त्यसबेला कांग्रेसलाई माओवादी, नेकपा एस, जसपाले पनि साथ दिएको थियो । भने, रास्वपाका प्रकाश सापकोटाले १ हजार ३८० मत मात्रै ल्याएका थिए ।

सो क्षेत्रमा समानुपातिकतर्फ पनि एमाले नै पहिलो दल देखिएको छ । एमालेले २६ हजार ५६२ मत ल्याउदा दोस्रो रहेको काग्रेसले २२ हजार ३३३, माओवादीले ५ हजार १५३, रास्वपाले ४ हजार ६८६, राप्रपाले १ हजार १९१, जसपाले ९०६ र नेकपा एसले ५८६ ल्याएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *