सभामुख घिमिरेसहितको टोली अन्तर व्यवस्थापिकाको महासभामा सहाभागी हुन स्वीजरल्याण्ड प्रस्थान

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे अन्तर–व्यवस्थापिका संघ को १४८ औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीजरल्याण्डतर्फ प्रस्थान गरेका छन् ।

अन्तर–व्यवस्थापिका संघको प्रधान कार्यालय रहेको जेनेभामा यही २०२४ मार्च २३ देखि २७ (२०८० चैत्र १० देखि १४) सम्म सञ्‍चालन हुने महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल बिहीबार बेलुका ५ः४० बजे कतार एयरलायन्सको क्यूआर ६४७ उडानमार्फत् दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेको हो ।

उक्त प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरू रमेश लेखक, महेश कुमार बर्तौला, हितराज पाण्डे र सन्तोष परियार तथा राष्ट्रिय सभाका सदस्य गंगा कुमारी बेलबासे, संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेय, संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद सचिवालयका उपसचिव प्रदीप गुरागाईं सहभागी छन् ।

महासभामा सभामुखज्यूले ’पार्लियामेन्टरी डिप्लोमेसीः बिल्डिङ् ब्रिजेज फर पिस एण्ड अन्डर्स्ट्याण्डिङ्’ विषयको जेनरल डिबेटमा संघीय संसदको तर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गर्नेछन् ।

आईपीयूको फोरम अफ योङ् पार्लियामेन्टरियन्समा सन्तोष परियार र माननीय महेश कुमार बर्तौला तथा फोरम अफ वुमेन पार्लियामेन्टरियन्समा गंगा कुमारी बेल्बासेले सहभागिता जनाउनेछन् । यी बाहेक आईपीयू्का स्थायी समितिका छलफलहरूमा समेत प्रतिनिधिमण्डलको सहभागिता रहनेछ ।

अन्तर–व्यवस्थापिका संघको महासभासँगै संसदका महासचिवहरूको संगठनका बैठकहरू सञ्‍चालन हुनेछन् । ती बैठकहरूमा संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले सहभागिता जनाउनेछन् ।

महासभामा सहभागी भई प्रतिनिधिमण्डल २०८० चैत १६ गते बिहान ९ः०० बजे स्वदेश आगमन हुने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *