केदार कार्की नेतृत्वको सरकार फेर्न अनुरोध गर्दै कांग्रेस सांसद ओली निवासमा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार परिवर्तन गर्न काङ्ग्रेसकै प्रदेश सभा सदस्यहरू लागेका छन् । सरकार परिवर्तन गर्ने कामको नेतृत्व अमृत अर्यालले गरिरहेका छन् ।

उनी नेपाली काँग्रेसको तर्फबाट मोरङ ५(१) बाट निर्वाचित भएका हुन् । लामो समय नेपाली काँग्रेस मोरङको सभापति भएका अर्याल मुख्यमन्त्री बन्ने भन्दै निर्वाचनमा होमिएका थिए ।

संसदीय दलको नेताको निर्वाचनमा २ मत पाएपछि उन मुख्यमन्त्रीको दौडबाट बाहिरिएका थिए । काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुन नसकेका अर्याल बुधवार साँझ एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

बुधवार साँझ बालकोट पुगेका प्रदेश सभा सदस्य अर्यालले केदार कार्की नेतृत्वको सरकार वैधानिक नहुने र नयाँ सरकार बनाउनु पर्ने ओली समक्ष बताएका छन् ।
उनले आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गरिदिन अध्यक्ष ओली समक्ष अनुरोध गरेका छन् । भेटमा तत्काल केदार कार्की नेतृत्वको बहिर्गमन हुनु पर्ने बताएका छन् । अर्यालको अनुरोधमा अध्यक्ष ओलीले हेरौला भन्ने बचन दिएका छन् ।

सरकार पविर्तनका विषयमा कुरा गर्न गएको प्रदेश सभा सदस्य अर्यालले स्वीकार गरेका छन् ।उनले नेपाल प्रेससँग एमाले अध्यक्ष ओलीसँग भेट सकारात्मक कुरा भएको बताए । उनले अध्यक्ष ओलीसँग सरकार परिवर्तनका विषयमा र अन्य विषयमा पनि कुरा भएको बताए । ‘सबै कुरा विराटनगर आएपछि भन्ने छु । भेट सकारात्मक भयो ।’ अर्यालले भने ।

संविधानको धारा १६८(५) अन्तरगत सरकार बनाउने बेलामा पनि उनी एमाले अध्यक्ष ओलीसँग भेट्न पुगेका थिए ।

सो भेटमा ओलीले सरकार गठन गर्न पुग्ने सङ्ख्या लिएर आउन भनेका थिए । एमाले श्रोतले भन्यो अर्यालले सरकार गठनका लागि काँग्रेसका आवश्यक सांसद पुर्‍याउन नसकेपछि केदार कार्कीसँग सरकार गठनका विषयमा कुरा भएको थियो ।

एमालेका ३९ प्रदेश सभा सदस्य रहेको बेला आर्यालले काँग्रेसका ८ प्रदेश सभा लिएर आउनु पर्ने थियो । उनले ८ जना काँग्रेसका प्रदेश सभा सदस्यको हस्ताक्षर लिएर आउन नसकेपछि एमालेले काङ्ग्रेसकै केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको थियो ।

एमाले स्राेतले भन्यो,’अर्याल अहिले पनि मुख्यमन्त्री बनाइदिन पर्‍यो भन्नुहुन्छ । अहिले हामी आफैँ सरकार गठन गर्न सक्ने सजिलो अवस्थामा छौं । उहाँलाई किन मुख्यमन्त्री बनाउनु पर्‍यो ?’

Comments

One response to “केदार कार्की नेतृत्वको सरकार फेर्न अनुरोध गर्दै कांग्रेस सांसद ओली निवासमा”

  1. Lekh Nath Paudel Avatar
    Lekh Nath Paudel

    कांग्रेस छोडेर एमाले साम्सद हुनसक्ने बाटो खोज्न गएजस्तो छ। त्यसपछी मुख्यमन्त्री कनफम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *