बजार नपाउँदा डोटीमा सेनीटरी प्याड उत्पादन बन्द

डोटी । बजार नपाउँदा डोटी जिल्लामा उत्पादन सुरु भएको सेनीटरी प्याड एक वर्षदेखि बन्द छ । महिला सेनेटरी प्याड उत्पादन फर्म डोटीले उत्पादन गरेका सेनेटरी प्याडले बजार नपाएपछि प्याड उत्पादनको कार्य बन्द भएको हो ।

उत्पादित प्याड बिक्री नहुँदा गत वर्षको फागुन महिनाबाट फर्मले प्याड उत्पादन गर्न नसकेको महिला सेनेटरी प्याड उत्पादन फर्मका अध्यक्ष शारदा भट्टले जानकारी दिइन् ।

फर्मले उत्पादन गरेको करिब डेढ लाख मूल्य बराबरका प्याड स्टक रहेको अध्यक्ष भट्टले बताइन् । ‘दिपायल, सिलगढी लगायत यहाँका स्थानीय बजारहरूमा हाम्रो सामान कसैले राख्न मानिरहेका छैनन्’, भट्टले भनिन् ‘हामी बजारकै खोजीमा छौँ ।’ स्थानीय तहहरुले सामुदायिक विद्यालयमा वितरण गर्ने सेनीटरी प्याड पनि बाहिरबाट खरीद गर्ने गरेको भट्टले बताइन् ।

आफूहरुले अझै हार मानि नसकेका उनको भनाइ छ । ‘बजारको तुलनामा सस्तो मूल्य र प्याड संख्या पनि बढाएर दिँदासमेत बिक्री भएन’, अध्यक्ष भट्ट भनिन्, ‘एउटा पोकामा आठ पिस राखी ५० रुपैयाँमा बेच्दा पनि बिक्री भईरहेको छैन, बजारमा ७० रुपैयाँमा पाइने अन्य उद्योगका सेनेटरी प्याडको एक पोकामा मात्र ६ पिस मात्रै हुन्छन् ।’

फर्मले डोटीका नौ वटै स्थानीय तह र जिल्लामा क्रियाशील संघसंस्थाहरुसँग बजारको लागि सहयोग माग समेत गरेको छ । गत पुसमा सम्पन्न नवौँ जिल्ला सभामा सहभागी स्थानीय तहका जनप्रतिनिधिसँग सेनेटरी प्याड खरीद गरिदिन आग्रह गरेको फर्मका कोषाध्यक्ष दिपा श्रेष्ठले बताउँछिन् ।

तर अहिलेसम्म कुनै पनि स्थानीय तहले प्याड खरीद नगरेको उनको भनाइ छ । उनी थप्छिन्, ‘दुई महिनाअघि पूर्वीचौकी गाउँपालिकाले ३० हजारको प्याड मगाएको थियो, हामीले गाडी रिजर्भ गरेर लग्यौँ तर राख्दैनौँ भनेर फर्काइदियो ।’

व्यापार प्रवर्द्धन केन्द्र काठमाडौँले मेसिन दिएपछि २०७९ मा स्थापना भएको फर्मले दिपायल सिलगढी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा पाँच लाख अनुदान दिएपछि प्याड उत्पादन गर्न सुरु गरेको थियो । फर्ममा प्याड उत्पादन हुन छोडेपछि तीन महिला र एक पुरुष गरी चार जनाले पाएको रोजगारसमेत गुमाएका छन् ।

 

Comments

One response to “बजार नपाउँदा डोटीमा सेनीटरी प्याड उत्पादन बन्द”

  1. Surendra bohara Avatar
    Surendra bohara

    बजार बेबस्थापन तथा pyaad को गुणस्तर सुधार गरेर बजारीकरण गर्नु पर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *