चंखेलीका अध्यक्षलाई १० दिनको अन्तरमा दुईवटा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईविरुद्ध १० दिनको अन्तरमा २ वटा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

यसअघि फागुन २२ गते मुद्दा दायर भएकोमा बिहीबार अध्यक्ष चौलागाई र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ९ जना अदालतमा मुद्दा दायर भएको हो ।

गाउँपालिकाको वडा नम्बर तीन स्थित ब्याफु खानेपानी मर्मत योजनाका लागि आर्थिक वर्ष २०७४/०७५ मा छुट्टाइएको रकम अनियमितता गरेको भन्दै आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाई, प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सब-इन्जिनियर हर्कधन बुढाले गैरकानूनी लाभ र सरकारलाई गैरकानूनी हानी पुर्‍याउने बदनियतले वास्तविक रूपमा काम भएको भन्दा पाँच लाख १५ हजार १०८ रुपैयाँ बढी भुक्तानी दिई भ्रष्ट्राचार गरेको पुष्टि भएको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार उनीहरूले ब्याफु खानेपानी मर्मत योजनाको फिल्डमा नापी किताब बमोजिम काम नभए पनि काम भएको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता सम्बन्धी झुट्टा बिल भरपाई तयार गर्ने, चेक गर्ने, प्रमाणित गर्ने र टिप्पणीमा सही गर्ने कार्य गरेका थिए ।

उनीहरुविरुद्ध पाँच लाख १५ हजार १०८ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन एवं बिगो असुलउपर गर्न माग गरिएको छ ।

यो पनि पढ्नुहोस्- चंखेली गाउँपालिकाका पूर्वअध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *