लुम्बिनीमा ३ दिन चलेको हिउँदे अधिवेशन अन्त्य

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ३ दिन मात्रै चलेको प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ ।

मुख्यमन्त्री डिल्ली चौधरीले सदन छलेको आरोप खेपिरहेको समयमा चैत ४ गते बोलाइएको तेस्रो अधिवेशनको चौथो बैठक अन्तिम समयमा स्थगित गरिएको हो ।

फागुन २३ गते यसअघिको सत्ता साझेदार नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरी अहिले अल्पमतमा छन् ।

सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले सदन स्थगित गरेर प्रदेश प्रमुखकोमा पठाएको स्वीकार गरे ।

‘तत्काल सदनमा कुनै विषय भएनन् र बिजनेस नभएकोले स्थगित गरिएको हो, बदलिँदो समीकरणले विश्वासको मत नि लिनुपर्ने हुनसक्छ त्यो समयमा पुनः आव्हान हुन्छ’, उनले नेपाल प्रेससँग भने ।

प्रदेश सभा सचिव दुर्लभ पुनले सदन स्थगित भएको कुरा बाहिर सुनिए पनि औपचारिक जानकारी नआएको बताए ।

नेकपा एमालेका प्रमुख सचेतक तुलसी चौधरीले मुख्यमन्त्रीले प्रदेश सभालाई छल्नका लागि सभालाई हठात् स्थगित गरिएको बताए ।

‘३ दिन सदन चल्यो, मुख्यमन्त्रीलाई केही चासो भएन, जबाफदेही हुने कुरै भएन, सदनसँग छलेर कहिलेसम्म भाग्ने’, उनले भने ‘एमाले यस्तो गलत कदमको सधैँ विरोधमा हुनेछ ।’

प्रदेश प्रमुखको कार्यालयमा फागुन ३० को मिति राखेर चैत १ मा सरकारले पठाएको पत्र फिर्ता पठाइएको छ । ‘पुरानो मितिको पत्र बुझ्ने कुरा भएन,सदन स्थगित भएको पत्र हिजोको मितिमा आएको थियो तर हामीले नबुझेको हो प्रदेश प्रमुख सचिवालयले भन्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *