काठमाडौं । पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा परेका राप्रपा कार्यसम्पादन समिति सदस्य पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठले प्रहरीमा जाहेरी दिएका छन् । पार्टी उपाध्यक्ष विक्रम पाण्डेको योजनामा आफूमाथि आक्रमण गरिएको उनको जाहेरीमा उल्लेख छ ।
राप्रपा कार्यसम्पादन समितिको बिहानको वैठकपछि खाना खान निस्कने क्रममा ठाकुरमोहन आक्रमणमा परेका थिए । आक्रमणको पछिल्लो दृष्य सञ्चारमाध्यम लाइभमा समेत कैद भएको थियो । तर, त्योभन्दा अगाडि पनि एक राउन्ड कुटाइ खाइसकेका थिए श्रेष्ठले ।
बैठकबाट निस्किँदै गर्दा भर्याङनेर उपाध्यक्ष विक्रम पाण्डेका स्वकीय सचिव तथा राप्रपा सहायक महामन्त्री प्रेम बलायरले हात मिलाउने बहानामा उनलाई रोके । श्रेष्ठसँग रहेका नेताहरु सरासर अघि बढे । श्रेष्ठलाई भने बलायरसँग रहेका मान्छेहरुले घेराउ गरिहाले । त्यसपछि ‘बैठकमा के बोलेको ?’, भन्दै आफूलाई छातीमा मुक्का प्रहार गरिएको श्रेष्ठ बताउँछन् ।
‘मलाई ड्याम कि ड्याम हानेर लडाएपछि म ढुन्मुनिएर शालिननेर । फेरि बल्लतल्ल उठेर भाग्ने क्रममा ढोकानेर पुगेको दृष्य मात्रै सञ्चारमाध्यममा आएको हो,’ उनले भने ।
कार्यसम्पादन समितिको वैठकमा पाण्डे र श्रेष्ठबीच चर्काचर्की भएको थियो । आफ्नो पालोमा बोल्ने क्रममा श्रेष्ठले अनुशासनको कारवाहीको सन्दर्भमा आफ्नो भनाइ राखेका थिए । आफू पार्टीमा नयाँ आएको हुँदा भन्दै उनले कारवाही गर्ने विषयमा राम्ररी सोचविचार र छानविन गरेर निर्णय लिनुपर्नेमा जोड दिए ।
उनी बोल्दाबोल्दै महामन्त्री पाण्डेले हस्तक्षेप गरेर प्रतिवाद गरेका थिए । ‘तपाईंहरु जहिले पनि नयाँ नयाँ भनेर एक्स्क्यूज खोज्नुहुन्छ । अब पुरानो भइसक्नुभयो । तपाईं पूर्वएआइजी भनेर ठूलो कुरा नगर्नुस्’, पाण्डेले भने, ‘कि कार्यसम्पादनबाट झारेर केन्द्रीय सदस्य बनाइदिनुपर्ने हो ?’
पाण्डेले व्यक्तिगत स्तरमा ओर्लेर होच्याएपछि श्रेष्ठले जवाफ फर्काए । उनले आफूहरु राप्रपालाई भ्रष्टाचार विरोधि पार्टी मानेर आएको तर अझै पनि भ्रष्टाचार आरोपिहरु पार्टीमा रहेको बताए ।
‘म नयाँ हुँ तर तपाईंजस्तो भ्रष्टाचारी होइन’, श्रेष्ठले भने । त्यसपछि पाण्डे ‘मलाई भ्रष्टाचारी भन्ने ?’, भन्दै बम्किए । श्रेष्ठले पनि भने, ‘तपाईं भ्रष्टाचारी नै हो ।’
यसरी वादविवाद भएपछि अध्यक्ष लिङ्देनले हस्तक्षेप गरेर संयमित हुन आग्रह गरे । उनले सबैलाई व्यक्तिगत आरोप प्रत्यारोप नगर्न र आफ्नो पालोमा बोल्न सुझाव दिए । रन्थनिएका पाण्डेले बैठक बहिष्कार गर्ने चेतावनी दिए । अध्यक्षले थुम्थुम्याए । एकछिनपछि उनी चुपचाप बाहिर निस्किए । करिब आधा घन्टापछि मात्रै फर्किए ।
योबीचमा उनले बाहिर गएर ‘मान्छे बोलाएको’ श्रेष्ठको आशंका छन् । एक दर्जनभन्दा बढी मानिसहरु गाडीमा राप्रपा कार्यलय प्रवेश गरेका थिए ।
उनीहरु पहिले होटलमा बसेर सरसल्लाह गरेका थिए । स्रोतका अनुसार बढी उम्लिन खोजेको भन्दै ठाकुरमोहन र ज्ञानेन्द्र शाहीलाई हान्ने योजना बनेको थियो । तर, श्रेष्ठमाथि मात्रै आक्रमण गर्न भ्याए ।
आक्रमणको नेतृत्वकर्ता नै बलायर थिए । उनीसँगै विक्रम पाण्डे निकटका युवाहरु आक्रमणमा संलग्न देखिएका छन् । राप्रपाको काठमाडौं क्षेत्र नम्बर ४ को अध्यक्ष रिद्दिप्रताप राणा, पाण्डे मन्त्री बन्दा सरकारी नियुक्ति पाएका हिम्मतजंग कार्की र विद्यार्थी नेता निराजन बम भिडिओमा पहिचान गरेका छन् । उनीहरुविरुद्ध नै श्रेष्ठले जाहेरी दिएका हुन् । अरु अपरिचितहरु १०–१२ जना थिए ।

Leave a Reply