सदनमा कांग्रेसमाथि प्रधानमन्त्री प्रचण्डका यस्ता आरोप

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले चुनावमा माओवादीलाई भोट नदिएकोदेखि कोशीमा अन्तर्घात गरेको विषयले गठबन्धन फेर्ने मनोविज्ञान बनेको बताएका छन् ।

एमाले नेतृत्वमा नयाँ गठबन्धन बनाएपछिको पहिलो संसद बैठकमा उनले कांग्रेसले प्रदेश, प्रतिनिधिसभा निर्वाचनदेखि राष्ट्रियसभा निर्वाचनसम्म माओवादीलाई अन्तर्घात गरेको आरोप लगाएका हुन् ।

‘निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई जुन तहमा सघायो । त्यही त आफूले सहयोग पाएन भन्ने मनोविज्ञान देशभरि नै थियो । त्यसले आपसी विश्वास केही कम बनाएको थियो,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा माओवादीविरुद्ध गरेको विद्रोहलाई कांग्रेस दण्डित गर्नुको सट्टा पुरस्कृत गरेको बताए ।

‘निर्वाचनपछि माओवादीलाई सत्ताको नेतृत्व दिने सहमतिबाट नेतृत्व पछि हट्दा त्यसबाट अर्को मनोविज्ञान बन्न गयो । कोशी प्रदेशमा त कांग्रेसले माओवादीविरुद्ध एक किसिमको विद्रोह नै गर्‍यो । गठबन्धनको नैतिकताको कसिमा त्यो दन्डित हुनुपर्थ्यो त्यसो हुन सकेन । बरु भयो पुरस्कृत गरियो ।’

उनले थपे, ‘राष्ट्रियसभामा त्यही पक्षले माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित नै गर्‍यो ।’

प्रधानमन्त्री प्रचण्डले गठबन्धनको निन्दा गर्दै महासमिति बैठकमा गठबन्धनविरुद्ध निष्कर्ष निकालिएको आरोप लगाए ।

‘कांग्रेस महासमिति बैठकमा विना सन्दर्भ त्यही गठबन्धनको निन्दा जस्तै गरी गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो बिर्सिएर चर्चा परिचर्चा छलफल र एक हदसम्म निष्कर्ष निकालियो गठबन्धनकै विरुद्ध,’ उनले भने, ‘निर्वाचन आउन ४ वर्ष बाकी छँदै गठबन्धनका साझेदारसँग अनावश्यक र बेमौसमको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक मान्न सकिएन ।’

कांग्रेसले महासमिति बैठकमा २०४७ सालको संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरेको प्रधानमन्त्री प्रचण्डले आरोप लगाए । ‘महासमिति बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन । र त्यसलाई विद्रुपीकरण गरियो र २०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरियो,’ उनले भने ।

कांग्रेसका कारण मिलिसकेको सैद्धान्तिक र वैचारिक विषयमा शंका र अविश्वासको वातावरण बन्न गएको प्रधानमन्त्री प्रचण्डले सुनाए । ‘यसरी हामीबिच हिजो मिलिसकेको सैद्धान्तिक र वैचारिक विषयमा शंका र अविश्वासको वातावरण बन्न गयो । सरकारका रूपमा हामीले उल्लेखनीय उपलब्धि हासिल नगरेका पनि होइनौं । तर, त्यो भन्दा बढी चाहन्थे,’ उनले भने ।

Comments

One response to “सदनमा कांग्रेसमाथि प्रधानमन्त्री प्रचण्डका यस्ता आरोप”

  1. Nagendra Avatar
    Nagendra

    प्रचण्डको यो भनाइ भित्र बाट आएको हो भने सत्य यो हो : ब्येक्तिगत रुपमा सहज थियो कांग्रेश संग तर राजनैतिक रुपमा साघुरो थियो बाटो, त्यो गन्तव्यहीन अप्ठेरो बाटो !! एमाले संग ब्येक्तिगत रुपमा टकराव जस्तो देखिए पनि राजनीतिक रुपमा खुल्ला छ, सहज छ र देश बनाउने रोद म्याप पनि !! बिगतमा त्यो नबुझ्दा नेकपा फुट्यो, देशले असह्य पिडा भोग्यो, अधोगति तय भयो !! अहिलेको यो ज्ञान कायम रहोस : लामु यात्रा अविचलित रुपमा अघि बढोस !! कुरा मा हैन ब्येवहारका आएको परिवर्तनले प्रगतिको मापन हुन्छ : त्यो मार्ग दर्सक सिद्धान्त बनोस !!! सुभकामना !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *