धनराज गुरुङलाई प्रश्न- समयले माग्यो भने फेरि प्रचण्डलाई काँधमा बोक्न कांग्रेस तयार हो ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक दाउपेचमा बढी चल्ने र सत्ताप्रतिको आशक्तिको कारणले गठबन्धन टुटाएको आरोप लगाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मन्त्रीहरुकै असहयोगको कारणले प्रचण्डले गठबन्धन नफेरेको दाबी गरे ।

उनले भने, ‘कांग्रेसका मन्त्रीहरुबाट पनि असहयोग भएको जस्तो त मलाई लाग्दैन । मैले पनि पटक पटक व्यक्तिगत पनि भेटेको छु । तर, उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको थिएन । मन्त्रीको कारण भन्दा पनि राजनीतिक चलखेलले गर्दा हो । यो प्रवृत्ति नै हो । राजनीतिक दाउपेचमा बढी चल्ने र सत्ताप्रतिको आशक्तिको कारणले पनि हो । मन्त्रीहरु त फेर्न मिल्ने कुरा हो नि !’

उनले समयको मागबमोजिम कांग्रेसले प्रचण्डलाई काँध थापेको उल्लेख गर्दै अहिले आफैं झरेर गएकाले आपत्ति मानिराख्नुपर्ने नभएको बताए ।

उनले भने, ‘प्रचण्डलाई काँध थापेर हामीले गल्ती गरेछौं कि भन्नै पर्दैन ।’

भनेपछि फेरि समयले माग्यो भने प्रचण्डलाई काँधमा बोक्न तपाईंहरु तयार हुनुहुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘हामीले सधैं अरुलाई काँध थाप्ने होइन । हामीलाई पनि अरुको काँधमा चढ्न मन लाग्छ होला नि !’

उनले कांग्रेसकै नेतृत्वमा बनेको संविधानको रक्षाको लागि सत्तापक्ष र प्रतिपक्ष जहाँ रहन पनि तयार रहेको बताए । उपसभापति गुरुङले भने, ‘हिजो संविधान नै धरापमा पर्‍यो भनेर हामी एकै ठाउँमा उभिएका हौं ।’

उनले अब कांग्रेस सरकारको खेलमा नलाग्ने उल्लेख गर्दै एमालेसँग मिलेर सरकार बनाउनतिर नलाग्ने प्रस्ट पारे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *