नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टी-२० शृङ्खला, नेपाल ४ विकेटले पराजित

काठमाडौं। नेदरल्यान्ड्सले नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको छ। त्रिवि मैदानमा मङ्गलवार भएको फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्‍यो ।

नेपालले दिएको एक सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। डच टोलीलाई अन्तिम ओभरमा जितका लागि केवल ७ रन आवश्यक थियो ।

विजयी टोलीका माइकल लेविटले २९ बलमा ५४ र साइब्रान्ड एंगलब्रेच्टले २९ बलमा ४८ रन बनाए। विक्रमजित सिंहले २३ बलमा २९ र म्याक्स ओदोदले २३ बलमा २२ रन बनाए। ५ बलमा दुई छक्का र २ चौका प्रहार गरेका टिम भान डर गुग्टेन २१ रनमा अविजित रहे। नेपालका कुशल मल्लले ४ विकेट लिए।

अन्तिम समयमा नेदरल्यान्ड्स दबाबमा देखिएपनि अविनाश बोहराले बलिङ गरेको १८ औँ ओभरमार्फत खेल सहज बनाएको थियो। त्यस ओभरमा डच टोलीले २१ रन जोडेको थियो।

१९ औँ ओभरमा कुशल मल्लले २ विकेट लिए भने १२ रन खर्चिएका थिए। डच टोलीलाई अन्तिम ३ ओभरमा ४० रन चाहिएको थियो। त्यसअघि नेदरल्यान्ड्सले पहिलो विकेटका लागि ८ ओभरमा ८३ रनको साझेदारी गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *