गण्डकीका मुख्यमन्त्री भन्छन्- प्रधानमन्त्रीज्यूले जे जे सिकाउनुहुन्छ, मैले त्यही त्यही गर्दै हिँडेको हो

पोखरा । केन्द्रमा सत्ता गठबन्धन फेरबदलको परकम्प प्रदेश सरकारमा पनि देखिन थालेको छ । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकी प्रदेशमा पनि फेरबदल सुरु भएको छ ।

गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्री बनेको सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई हटाएका छन् ।

मुख्यमन्त्री पाण्डे भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेसम जुग्जाली र सामाजिक विकास मन्त्री सुशीला सिम्खडालाई हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले केन्द्रमा जे भयो त्यही अनुसार नै आफूले निर्णय गरेको प्रतिक्रिया दिए ।

‘गण्डकी सरकारमा दुई वटा पार्टी सरकारमा थिए । माओवादीका मन्त्रीलाई हटाएका हौँ,’ मुख्यमन्त्री पाण्डेले नेपाल प्रेससँग भने, ‘माथि जे भएको यहाँ पनि त्यति गरेको हो । प्रचण्डले परिवर्तन गर्नुभयो, यहाँ मुख्यमन्त्रीले परिवर्तन गर्नुभयो ।’

उनले थपे, ‘उहाँ (प्रधानमन्त्री)ले जेजे सिकाउनुहुन्छ, मैले त्यहीत्यही गर्दै हिँडेको हुँ ।’

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादीका मन्त्रीलाई हटाएर सरकारले समर्थन फिर्ता लिन बाध्य बनाएको बताए ।

‘हामीले नै विश्वासको मत फिर्ता लिनुपर्ने हो । त्यही बुझेर उहाँले बर्खास्त गर्नुभएको हो । स्वाभाविक प्रक्रिया हो । हामीले स्वाभाविक रूपमा लिएका छौँ,’ उनले भने, ‘फिर्ता लिन उहाँहरूले बाध्य पार्नुभयो त्यो बारेमा हामी सल्लाह गर्दैछौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *