सत्ता गठबन्धन विघटनउन्मुख, माओवादी-एमालेबीच मिलेर जाने समझदारी

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष, मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेस महासमिति प्रतिवेदनलगायतका विषयले सत्ता गठबन्धन विघटनउन्मुख बनेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड अर्को समीकरणमा हाम्फाल्न तयार देखिएका छन् ।

हिजो राति प्रचण्डले एमाले, रास्वपा र जसपाका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । टीआरसीको विषयमा छलफल भएको भनिए पनि मुख्य विषवस्तु सत्तासमीकरण रहेको एक नेताले बताए ।

हिजोको विकासक्रमपछि आज बिहानैबाट कांग्रेसबाहेक सबै दलहरू आन्तरिक बैठकमा जुटेका छन् । आज बिहान बस्ने भनिएको सत्ता गठवन्धनको बैठक स्थगित बनेको छ ।

माओवादीका एक पदाधिकारीका अनुसार आजै दुवैतर्फको बैठकले नयाँ सत्तासमीकरणबारे औपचारिक निर्णय लिने छ । अहिले माओवादी पदाधिकारीको बैठक बालुवाटारमा बसिरहेको छ भने बालकोटमा एमाले सचिवालयको बैठक जारी छ । रास्वपा र जसपा पनि बैठकमा छन् ।

ती पदाधिकारीले नेपाल प्रेसलाई बताएअनुसार एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष, शान्ति प्रक्रियाको बाँकी कामसहित नयाँ समीकरण बनाएर जाने सहमति भएको हो ।

‘महासमितिमा प्रस्तुत कांग्रेसको दस्तावेजका कारण राजनीतिले नयाँ मोड लियो । मुख्यतया एमालेसँग सहकार्यको सहमति भएको छ। नयाँ समीकरणमा कोको थपिन्छन् छलफल चल्द‌छ’, ती पदाधिकारीले भने ।

हिजो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच २ पटक भेट भएको थियो । ओली साँझ महासचिव शंकर पोखरेललाई लिएर बालुवाटार छिरेका थिए । त्यसको केहीबेरमा रास्वपा सभापति रवि लामिछाने पनि पसेका थिए ।

कांग्रेसको महासमिति बैठकबाट सत्ता सहकार्य हुनसक्ने तर, चुनावमा गठबन्धन नहुने दस्तावेज पारित भएको थियो । उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्तावमा अहिले प्राप्त ‘उपलब्धिहरू’ हत्या हिंसाबाट नभएर जनआन्दोलनबाट हासिल भएको उल्लेख छ । जनयुद्धलाई क्रेडिट दिइएको छैन । यसमा माओवादी असन्तुष्ट बनेको हो ।

Comments

One response to “सत्ता गठबन्धन विघटनउन्मुख, माओवादी-एमालेबीच मिलेर जाने समझदारी”

  1. Nagendra Avatar
    Nagendra

    “ओली साँझ महासचिव शंकर पोखरेललाई लिएर बालुवाटार छिरेका थिए । त्यसको केहीबेरमा रास्वपा सभापति रवि लामिछाने पनि पसेका थिए ।”
    यो पत्रिकाको कस्तो भाषा हो ?? यस्तै हुन् सब्द यहा प्रयोग हुनु पर्ने ?? के सम्झिने हो पत्रकारले आफुलाई ?? असभ्य भएको चिनारी !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *