गठबन्धन धर्मराउने चर्चाबीच माओवादी सांसदले लेखे- निर्णायक कदम चाल्ने अवस्था हुँदैछ

कैलाली । सत्ता गठबन्धन धर्मराउने चर्चा चलिरहेका बेला माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सांसद ओमविक्रम भाट सरकारले सरकारको समीक्षा गर्ने बेला आएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले प्रदेश सरकार दिशा विहीन र कुहिरो भित्र हराएको कागजस्तो भौतारिरहेको भन्दै आफूहरू निर्णायक छलफलमा जुट्ने सङ्केत गरेका छन् । सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहेको छ । यहाँ माओवादीका दुई मन्त्री र एक राज्य मन्त्री छन् । तर, माओवादीकै सांसद भाटले सरकारले गति दिन नसकेको भन्दै आलोचना गरेका हुन् ।

‘सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक बर्ष पूरा भइसकेको छ । यो एक बर्ष सरकार दिशा विहीन र कुहिरो भित्र हराएको कागजस्तो भौतारिरहेको छर्लङ्ग छ । त्यस कारण सरकारबारे गम्भीर समीक्षा आजको आवश्यकता हो’, उनले लेखेका छन्, ‘यदि सुदूर पश्चिमेली जनताको हकहित, विकास, समृद्धि, सुशासन र सङ्घीयता कार्यान्वयनको पक्षमा काम गर्न सकिँदैन भने हामीहरूले निर्णायक कदम चाल्ने अवस्था सृजना हुँदै छ ।’

उनले सत्ता गठबन्धन भित्रै पनि सरकारमा कांग्रेस एकलौटी हाबी भएको भन्दै त्यस विषयमा अन्य दलहरू बिच छलफल गरिने बताएका छन् ।

‘समयमा गठबन्धन भित्र छलफल गरेर उपयुक्त र सही समाधान निकाल्न सकिँदैन र सरकार त्यसका लागि तयार हुँदैन भने सरकारबारे हामी गम्भीरतापूर्वक सोच्न बाध्य हुनेछौँ । त्यसका लागी हामी गठबन्धन भित्र गम्भीर विमर्श एवं समीक्षा गरिरहेका छौँ ’ उनले लेखेका छन्, ‘केहि समयभित्रै गठबन्धन सरकार भित्र रहेका दलहरूको सामूहिक धारणा सार्वजनिक गरिनेछ । हाम्रो प्राथमिकता सरकार होइन सुशासन समृद्धि सामाजिक न्याय सहितको सुन्दर र समृद्ध सुदूरपश्चिम हो ।’

भाट सुदूरपश्चिम प्रदेशमा माओवादी भित्र प्रभावशाली नेता मानिन्छन् । उनले सामाजिक सञ्जालमा लेखेको विषयले सुदूरपश्चिम प्रदेशमा सत्ता सहकार्यमा खटपट भएको सङ्केत दिएका छन् । केन्द्रमा गठबन्धनमा विभिन्न प्रश्न उठिरहेका बेला प्रदेशमा माओवादी सांसदले सरकारका विषयमा निर्णायक कदम चाल्ने अवस्था आउने भन्दै दिएको अभिव्यक्ति अर्थपूर्ण रुपमा हेरिएको छ ।

केही समय अघि भाट सहितका बहुमत माओवादी संसदीय दल सदस्यहरूले दलको नेता फेरेका थिए । अहिले माओवादी संसदीय दलका नेता मानबहादुर धामी भोली काठमाडौँबाट आउने र सुदूरपश्चिम सरकारका विषयमा गम्भीर समीक्षा गर्ने माओवादीको तयारी छ ।’

माओवादीको यस तयारीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले पनि साथ दिने सङ्केत दिएका छन् ।

‘भोलि संसदीय दलको नेता आउँदा साथ माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एस बसेर सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी छ’, माओवादी उच्च स्रोतले भन्यो, ‘अहिलेको सरकार प्रति तीनै दल सन्तुष्ट छैनन् ।’

गठबन्धन भित्रै छुट्टै कार्यदल तयार गरेर कांग्रेस नेतृत्वको सकारलाई दबाबमा राख्ने अन्य तीन दलको तयारी रहेको छ । यहाँ माओवादीका ११ ,नागरिक उन्मुक्ति पार्टीका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।

 

Comments

One response to “गठबन्धन धर्मराउने चर्चाबीच माओवादी सांसदले लेखे- निर्णायक कदम चाल्ने अवस्था हुँदैछ”

  1. ksp pyl Avatar
    ksp pyl

    के सामिक्षा गर्छौ ? सबैभन्दा काम नलाग्ने, देशको हित विरूद्व काम गर्ने, अस्थिर र इमान जमान नभएको तिम्रै नेता प्रचण्ड छन् । तिमीहरूले आँसु नझारे हुन्छ अब । जनताले पत्याउनेवाला छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *