कैलाली । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले आजको स्थायी समिति बैठकको निर्णयमा गम्भीर असहमति दर्ज गरेका छन् । उनले आफ्नो ३४ वर्षको राजनैतिक र साङ्गठनिक जीवन समाप्त पार्ने डिजाइनअनुसार स्थायी समितिले निर्णय गरेको बताएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेर उनले चार प्रश्न गरेका छन् । स्थायी समिति बैठकले गरेको निर्णयले सुदूरपश्चिम प्रदेशको पार्टीभित्र देखिएको अराजकतालाई निरुत्साहित गर्ने वा प्रोत्साहित गर्ने भन्दै उनले प्रश्न गरेका छन् ।
त्यस्तै इमानदार कार्यकर्तालाई निरुत्साहित गर्ने वा प्रोत्साहित गर्ने, पार्टी संस्थागत निर्णयबाट सञ्चालन हुन्छ या अमुक व्यक्तिको चाहनाबाट भन्दै प्रश्न गरेका भट्टले अराजकतालाई दण्डित गर्नुपर्ने अवस्थामा झन् प्रश्रय गर्ने कदमले पार्टीमा दण्डहीनताले कस्तो रूप लिन्छ भनेर सोधेका छन् ।
आज स्थायी समिति बैठकले प्रदेशको इन्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाएको थियो । भट्ट सुदूरपश्चिम माओवादीका शीर्ष नेता हुन् । तर, उनले इन्चार्ज वा सहइञ्चार्ज कुनै जिम्मेवारी पाएनन् ।
त्यस्तै माघ १२ गते बहुमतले भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेताबाट हटाएको थियो । उक्त निर्णयलाई पनि स्थायी समिति बैठकले हस्तक्षेप नगरेपछि भट्टले असहमति प्रकट गरेका छन् ।


Leave a Reply