प्रहरीले फर्काएकी महिलाले सीधै जिल्ला अदालतमा दर्ता गरिन् कृष्ण कँडेलविरुद्ध मुद्दा

काठमाडौं । इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर भएको छ । इन्द्रेणी कार्यक्रमकै एक पूर्वकलाकारले आइतबार कँडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकी हुन् ।

कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको तथा यौन प्रस्ताव राखेको आरोप फिरादपत्रमा लगाइएको छ । जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले मुद्दा दर्ता गरिएको पुष्टि गरे । पन्थीका अनुसार मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९, २२३, २२४ विरुद्धको कसुरमा हदैसम्मको कारबाही तथा क्षतिपूर्ति माग गरिएको छ । यस्तो कसुरमा ४ वर्षसम्म जेल सजाय हुनसक्छ ।

एक साताअघि इन्द्रेणीबाट निष्कासित ६ जना कलाकारले कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए । तीमध्ये एक महिला कलाकारले आफूमाथि यौन दुर्व्यवहारसमेत भएको बताएकी थिइन् । उनै महिलाले अदालतमा मुद्दा हालेकी हुन् ।

ती महिलाले यसअघि प्रहरीमा जाहेरी दिने प्रयास गरेकी थिइन् । उनले कँडेलविरुद्ध करणी उद्योगमा जाहेरी दिन खोज्दा प्रहरीले प्रमाण नपुग्ने भन्दै फर्काइदिएको थियो । त्यसपछि उनले शान्ति सुरक्षा पाउँ भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् । सीडीओ कार्यालयले काठमाडौं प्रहरी परिसरलाई छलफल गराउन निर्देश गर्‍याे । प्रहरी परिसरले बानेश्वर वृत्तलाई भन्यो । तर, महिला प्रहरीमा छलफल गर्न छोडेर अदालत पुगेकी हुन् ।

व्यक्तिवादी मुद्दा भएकाले फिराद-पत्र लिएर सीधै जिल्ला अदालतमा मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार रामु शर्माले नेपाल प्रेससँग बताए ।

यसअघि कँडेलले गत शुक्रबार ती महिलासहित ६ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमै गाली बेइज्जतीको मुद्दा दर्ता गराइसकेका छन् ।

Comments

One response to “प्रहरीले फर्काएकी महिलाले सीधै जिल्ला अदालतमा दर्ता गरिन् कृष्ण कँडेलविरुद्ध मुद्दा”

  1. Nagendra Avatar
    Nagendra

    पिडितले पिडित नभई पिडित भएँ भन्दैन :
    १. पीडक जस्तो सुकै ठुलो, प्रभावी, सक्तिसाली वा सक्ति चलाउन सक्ने वा सक्तिको छायाँमा रहेको होस् अदात त्योबाट प्रभावित नहोस !!
    २. वास्तवमा, सम्मान गरेको, भगवान मानेको पूजेको मान्छे मति भ्रस्ट भयो भने नजानिँदो तरिकाले वारिपरिकाहरु पिडित हुन्छन, त्यो यानिक होस् या अन्य !!
    ३. वास्तवमा, यौटा कर्म बाट चर्चित भएका, प्रभावी भएका मान्छेहरु सजिलै अरुलाई फसाउन र कब्जामा पार्न र अपराध गरिरहन पाउने जस्तो देखिएको छ, त्यो कानुनको अभाव भन्दा पनि, त्येसको ब्याख्या र प्रयोगले कत्ति प्रभावी भन्ने भएको छ : त्येशैले सामाजिक बिकृतिको अन्त गर्न सहि र बलियो आधार बन्ने र ‘हिन्ग्सा’ गर्न उद्दत समाजका पासविक मनस्थितिका मान्छेको दिमाग रन्थनिने गरिको, त्यो तिर सोच्दा पनि सरिरमा करेन्टको बेजोड झट्का र पिडा आउने मनोविज्ञान उब्जाउने फैसला होस् !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *