एमालेको निशानामा यी तीन मन्त्रीः राजीनामा दिनुपर्ने बटमलाइन

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको तीन मन्त्रीको राजीनामा बटमलाइन बनाएको छ।

बालकुमारी घटना मुख्य जिम्मेवार देखिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स घोटाला प्रकरणमा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीको रामग्राम क्षेत्र लिजलाई दिने पर्यटमन्त्री सुदन किरातीकोे राजीनामा मागेको हो।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचिव योगेश भट्टराईले तीन मन्त्रीको राजीनामा बटमलाइन भएको सुनाउँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा नैतिक जिम्मेवारी लिनुपर्ने बताए। तीन मन्त्रीबारे प्रधानमन्त्रीले आजैको बैठकमा आएर जवाफ दिनुपर्ने उनको माग छ।

तीन मन्त्रीको राजीनामा किन ?

बालकुमारी घटनाबारे हामीले जसरी सुनेको बुझेको छौं। इपीएस फारम भर्नको लागि युवाहरु त्यहाँ जम्मा भएको थिए। सरकार, सम्बन्धित मन्त्रालय र त्यहाँको कतिपय विभागिय जिम्मेवारी लिएको व्यक्तिहरुको लापरवाहीले त्यसदिनमा घटना हुन पुगेको छ। त्यो इपीएस परिक्षामा सामेल हुने विद्यार्थीलाई पूर्व सूचना दिएको छैन।

घटना घटेको छ। तर, सरकारका मन्त्री झण्डा हल्लाउँदै भएर भिडलाई उत्तेजित बनाउने परिस्थिती सिर्जना हुन्छ। मन्त्रीसँग प्रहरी र आर्मीको सुरक्षा छ। मन्त्रीहरुको बाटोमा सुरक्षाबारे सुरक्षा अंगले हेर्नुपर्छ।

तर, मन्त्री त्यही बाटोमा हिँड्नु परिस्थितीलाई उत्तेजित बन्न पुग्यो जसको कारणले दुई जनाको ज्यान गयो। बालकुमारी घटनामा दुई जना युवाको हत्या भयो भनेर प्रधानमन्त्री स्वयमले भन्नुभएको छ। यदी बालकुमारी घटनामा हत्या भएको हो भने कसले गर्‍यो त, नागरिक तहमा झडप भएर हत्या भएको होइन।

सुरक्षाकर्मीको गोलीबाट बालकुमारीमा दुई जना युवाको हत्या भएको हो। यसमा सिंगो सरकार जिम्मेवार छ। एकजना मन्त्रीको लापरवाहीको कारणले सरकारले बनाएको आयोगले नै मन्त्रीलाई दोषी देखाइएको छ। त्यो मन्त्री फेरि पदमा बस्ने कुरा नैतिक हिसाबले हुँदै हुँदैन। त्यसको प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्छ।

टेरामक्स घोटाला प्रकरणमा तत्कालिन सञ्चार मन्त्री आजको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको अख्तियारले बयान लिएको छ। झण्डा हल्लाएर अख्तियारको अफिसमा बयान दिन गएका मन्त्री सम्भवतः उहाँ पहिलो होला। अख्तियारले बयान लिएको छ भने त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा हामीलाई किमार्थ स्वीकार्य छैन।

यो नैतिक प्रश्न हो। त्यसमा कोको तानिन्छन् लेखा समितिले छानविन गर्न भनेको छ छानबिन हुँदै जाला तर बहालवाला मन्त्री झण्डा हल्लाएर अख्तियारमा बयान दिन जाने अनि छानबिनलाई पनि अगाडि बढाउने हो भने छानबिन प्रक्रिया पनि प्रभावित हुन्छ। त्यसकारण निष्पक्ष ढंगले अगाडि बढाउन आजका स्वास्थ्य मन्त्रीजी पदमा बस्न मिल्दैन उहाँको राजीनामा हाम्रो भनाइ हो।

गौतम बुद्धको एकमात्रै अस्तु भएको ठाउँ रामग्राम कुनै एउटा निजी कम्पनीलाई लिजमा दिने पर्यटन मन्त्रीको अध्यक्षतामा भएको छ। उहाँ ९९ बर्षको लागि रामग्राम लिजमा दिने निर्णय पर्यटन मन्त्रीको बोर्ड बैठकले निर्णय गरेको छ।

९९ वर्षको लागि लिजमा दिने, जमिन छैन त्यही निजी कम्पनीले किन्ने त्यो लुम्बिनी विकास कोषलाई दिने अनि त्यो जमिन फेरि त्यही निजी कम्पनीलाई दिने र ९९ बर्ष त्यहाँ व्यवसाय गर्ने, यस्तो पनि हुन्छ कहिँ। त्यसैले स्यवम मन्त्री बसेर निर्णय गर्नुभएको छ नैतिक जिम्मेवारी उहाँको हुनपर्छ, लेखा समितिले स्थगित गर्न भनेको छ।

तर, स्थगित गरेर मात्रै हुँदैन यसमा नियतहरु छन् कोको व्यक्तिको संलग्नता छ। कसका घरबेटी संलग्न छन् भन्ने सबैले देखेका छन्। डोकाले छेकेर पनि छेकिँदैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *