कांग्रेस प्रतिवेदनमा सञ्चार क्षेत्रका विषय नसमेटिनु दुःखद : अध्यक्ष लम्साल

काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा सञ्चार क्षेत्रलाई समेट्ने गरेर कुनै पनि प्रस्ताव नआउनु दुःखद भएको बताएका छन् ।

प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन भएका अध्यक्ष लम्सालले महासमिति बैठकमा बुधवार आफ्नो धारणा राख्दै सञ्चार क्षेत्रले जताततै चुनौती भोग्दै गरेको अवस्थालाई कांग्रेसको महासमिति बैठकमा प्रस्तुत कुनै पनि प्रतिवेदनमा समावेश नगरिनु दुखद भएको बताए ।

‘प्रेस, न्यु मिडिया, पत्रकारिता जगतले भोग्दै गरेका चुनौती बारे महासमिति बैठकमा कुनै पनि प्रतिवेदनमा केही आएन, कांग्रेस जस्तो लोकतान्त्रिक दलले सञ्चार क्षेत्रको विषयमा केही नबोल्नु दुखद छ’ लम्सालले भने ।

उनले कांग्रेसलाई गुट बनाउन र आफ्नो मान्छे बनाउन बाहेक अन्य परिणाममुखी काम गर्न फुर्सद नभएको भन्दै कांग्रेसले आफूलाई बलियो बनाउन सबै तहका नेताहरु सुध्रिनु पर्ने बताए ।

लम्सालले पार्टीबाट निर्वाचित बनेका नेताहरूमा वडा तह, प्रदेश तह र केन्द्र तहसम्म भ्रष्टचारको गन्ध बढ्दै गएको भन्दै गठबन्धनका कारणसमेत धेरै क्षेत्रमा कांग्रेसीहरुले अवसर गुमाउनु परेको बताए ।

महासमिति बैठकमा धारणा राख्दै महासमिति सदस्य तथा पत्रकार तारानाथ दाहालले दुई महामन्त्रीले पेश गरेको प्रतिवेदनलाई परिमार्जनसहित बैठकले पारित गर्दा महासमितिमा आएका शब्दको थुप्रोलाई व्यवस्थित गर्न सकिने धारणा राखे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *