सैनामैना खानेपानीमा रास्वपाको जितपछि पार्टीको विज्ञप्ति- संघसंस्थामा दलीय प्रतिस्पर्धा गर्नेलाई कारवाही हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जनस्तरका सामुदायिक संघ-संस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको जनाएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकामा तीन हजारभन्दा बढी मतदाता भएके सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा एमाले र सत्तागठबन्धनका उम्मेदवारलाई हराउँदै रास्वपाका एकबहादुर क्षेत्री विजयी भएको समाचार आएपछि रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विद्यालय, खानेपानी, सिंचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता/व्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समितिमा राजनीतिक भागवण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु गलत प्रवृत्ति रहेको जनाएका छन् । बुधबार जारी प्रेस विज्ञप्तिमा सामुदायिक संस्था स्थापना/सञ्चालनको उद्देश्य गैर-राजनीतिक र क्रियाकलापहरू समुदाय केन्द्रित हुनुपर्छ भन्ने रास्वपाको स्पष्ट मान्यता रहेको उल्लेख छ ।

पार्टीको नीतिविपरीत त्यस प्रकारको क्रियाकलाप कुनै पार्टी सदस्यबाट गरेको वा गराइएको पाइए कारवाही रास्वपाको भनाइ छ ।

‘ती संस्थाको नेतृत्व छनौटमा दलीय संलग्नता भइरहेकाप्रति हामी सचेत छौं । जनहितका लागि गर्नुपर्ने काममा पनि भागबन्डा खोजेर जनतालाई सधैँ राजनीतिक पार्टीको अधिनमा राख्ने प्रवृत्तिको हामी घोर विरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

‘राजनीतिक दलबाट यस्ता संस्थाहरू संक्रमित गर्ने कुसंस्कारको बाछिटा रास्वपामा पार्न खोज्ने तथा केही समययता रास्वपालाई समेत यस्तोमा नियोजित रूपमा मुछ्ने प्रयास भइरहेको छ । रास्वपा राजनीतिक दललाई आफ्नो राजनीतिक सीमामा बाँध्नुपर्छ भन्ने सन्दर्भमा कुनै सम्झौता गर्दैन । यद्यपि रास्वपाका समर्थक व्यक्तिगतरूपमा सहभागी भएका हुन सक्छन् । कुनै पार्टी सदस्य व्यक्तिगत हैसियतमा त्यस्ता गतिविधिमा भाग लिने व्यक्तिगत स्वतन्त्रताको विषय हुन सक्ला । तर, त्यस्तो व्यक्तिगत उम्मेदवारीका क्रममा पार्टीको संस्थागत प्रतिनिधित्वका रूपमा प्रचारप्रसार नगर्न, रास्वपाका समर्थकहरू सामूहिक रूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलहरूसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गर्दछौं’, विज्ञप्तिमा जनाइएको छ ।

Comments

One response to “सैनामैना खानेपानीमा रास्वपाको जितपछि पार्टीको विज्ञप्ति- संघसंस्थामा दलीय प्रतिस्पर्धा गर्नेलाई कारवाही हुन्छ”

  1. हरिहर Avatar
    हरिहर

    अब आफ्नै पार्टीका मान्छेबाट कारवाही शुरु गर्ने हो कि ? कि आफ्नो पार्टीबाहेकलाई निषेध भनेको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *