बाँदर नियन्त्रणसम्बन्धी अध्ययन भ्रमणमा सांसदको सट्टा विज्ञ पठाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बाँदर नियन्त्रणसम्बन्धी अध्ययन भ्रमणमा सांसद पठाउने निर्णयको विरोध गरेको छ ।

रास्वपाको आज बसेको सचिवालय बैठकले बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न संसदीय समितिले सांसदहरू भारत भ्रमण पठाउन गरेको निर्णयमा आपत्ति जनाउँदै विज्ञ पठाउन अनुरोध गरेको हो । बालीनाली नष्ट गर्ने र कृषकको उठीवास लगाउने बाँदर नियन्त्रणको अध्ययन सम्बन्धित पीडित किसान र विज्ञबाट मात्र सम्भव हुने रास्वपा प्रवक्ता एवं महामन्त्री मुकुल ढकाल बताउँछन् ।

केही दिनअघिमात्र प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर आतंक नियन्त्रको उपाय खोजीका लागि सांसदहरू भारतको हिमाचल प्रदेशमा अवलोकन भ्रमणमा जाने निर्णय गरेको थियो ।

समिति सभापति आरजु राणाले पुस २६ गतेको बैठकमा आफूले बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र लेखेको र रेस्पोन्स राम्रो आएको बताएकी थिइन् । केही दिनअघिमात्र सांसद, केही कर्मचारी र पशु चिकित्सक सम्मिलित टोली लिएर अवलोकनमा जाने निर्णय भएको छ । हिमाचलमा बाँदर बन्ध्याकरण गरी प्रभावकारी नियन्त्रण भएको पाइएकाले त्यहाँको अवस्था अध्ययनका लागि सांसदहरूको टोली जान लागेको हो ।

बाँदर आतंक नियन्त्रण संघर्ष समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटा पीडित किसानलाई पनि भ्रमण दलमा सामेल गराउन ध्यानाकर्षण पत्र बुझाएका थिए ।

Comments

One response to “बाँदर नियन्त्रणसम्बन्धी अध्ययन भ्रमणमा सांसदको सट्टा विज्ञ पठाउन रास्वपाको माग”

  1. ksp pyl Avatar
    ksp pyl

    भ्रमण गर्दा लागेको खर्च भनेर नक्कली वील भर्पाई बनाएर खान पाईन्छ । त्यसैले साँसद जान तछामछाड गर्छन् । अझ पुरूष साँसद भएर पनि सुत्केरीको वील पेश गर्ने समाजवादीको फटाहाले यसपाली हारेको छ र मात्र । नत्र त त्यसले जस्ता वील पनि पेश गरेर खाईदिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *