भैँसेपाटीको मन्त्री निवास वरपरका स्थानीयको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्छः रास्वपा सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भैँसेपाटीस्थित संघीयमन्त्री निवास वरपरको बाटो व्यवस्थित बनाउन सरकारसँग माग गरेकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले स्थानीयले सो मन्त्री निवासको पश्चिमतिरको बाटो पनि फराकिलो बनाउन गरेको माग तत्काल सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएकी हुन्।

स्थानीयको जग्गा र जनताको करबाट मन्त्री निवास बनाउने तर स्थानीयले उचित बाटोको व्यवस्था गर्न राखेको माग सम्बोधन नगर्ने काम सरकारले गर्न नहुने सांसद कार्कीको भनाई थियो । उनले काठमाडौं–तराई फाष्ट ट्रयाक र सुख्खा बन्दरगाह संचालनमा आएपछि सो बाटो धेरै साँघुरो हुने भएकाले पनि सरकारले त्यसलाई फराकिलो हुनेगरी बनाउनुपर्ने बताइन् ।

सांसद कार्कीले भनिन् ‘ललितपुरको भैंसेपाटीमा प्रदेशदेखि संघीय मन्त्रीहरुका लागि जनताबाट जग्गा लिएर, जनताकै करबाट आलिशान भवनहरु निर्माण गर्ने तर त्यहीका जनता भने दैनिक आवातजावत गर्नका लागि हामीलाई पनि बाटो दिनुस भनेर हार गुहार गरिरहनुपर्ने, त्यही फाईल बोकेर कार्यालय, विभाग धाई रहनुपर्ने, आन्दोलन नै गरिरहनु पर्ने ? मन्त्री निवासको ३ तिर ११ मिटर चौडा बाटो बनाइ गर्दा पश्चिमतिरको बाटो भने ५ मिटर मात्र । मन्त्री निवासमा अग्लो पर्खाल लगाएपछि बाटो झन साँघुरो गल्ली जस्तो हुने निश्चित छ । फास्टट्रयाक र बन्दरगाह सञ्चालनमा आएपछि झन चाप थपिनेछ । फुटपाथसम्म बनाउने ठाउँ छैन । सडक दुर्घटनाको सम्भावना बढ्दो छ । ५ वर्ष भइसक्यो, स्थानीयले कुरा उठाएको । मैले पनि पटकपटक पत्र लेखेको छु । राष्ट्रिय सभा दिगो विकास समितिले २०७८ मा नै निर्देशन दिएको छ । मन्त्री पनि ५ पटक, ६ पटक फेरि सके । बाटोको अवस्था भने फेरिएन ।’

सांसद कार्कीले सडक दुर्घटनाको सम्भावनालाई ध्यानमा राखेर पनि सरकारले सो मन्त्री निवास वरपरको बाटोको उचित व्यवस्था गर्नुपर्ने बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *