धनगढी । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट कैलालीको सुखडमा सुरु हुँदै छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पछि एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने छन् । जिल्ला अधिवेशनको लागि अध्यक्ष ओली आजै काठमाडौँबाट आउँदै छन् ।
आज र भोली हुने अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने जनाइएको छ । जिल्लाको नेतृत्व लिन तीन पक्षबिच आन्तरिक सङ्घर्ष चलिरहेको छ । जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न एमालेका तीन केन्द्रीय नेताहरू लबिङ गरिरहेका छन् ।
आफू निकटका नेतालाई जिल्ला अध्यक्ष बनाउन उनीहरूबिच रस्साकस्सी चलिरहेको छ । एमाले कैलालीको नवौँ अधिवेशन नजिकिँदै जाँदा प्रतिस्पर्धा झन् रोचक बनेको हो ।
त्रिपक्षीय प्रतिस्पर्धा
आजबाट सुरु हुने कैलाली जिल्ला अधिवेशनका लागि मुख्यतया त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष पदका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डे गरी तीन जनाले दाबी गरेका छन् । ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन् ।
उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् ।
सचिवमा ममताप्रसाद चौधरी, हितेस ओझा, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन् ।
२ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् । उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन् ।
त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् ।
सहमतिको सम्भावना सकिँदै, चुनाव जित्ने तीनैको दाबी
आकांक्षीहरू धेरै देखिँदा सर्वसम्मत पदाधिकारी चयन हुने सम्भावना क्षीण बनेको छ । तर, सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास भने भइरहेको नेताहरू बताउँछन् ।
एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्ना सहमतिमै नेतृत्व चयन गर्न प्रयास भइरहेको बताउँछन् । ‘सकेसम्म प्रतिस्पर्धा नगराउने हाम्रो चाहना हो । त्यसैले नै अधिवेशन अगावै आकाङ्क्षीबाट इच्छा पत्र मागेका हौँ,’ उनले भने, ‘आकांक्षीहरू स्पष्ट देखिएका छन् । हामी सहमतिका लागी छलफल गर्दै छौँ ।’
स्वयं उम्मेदवारहरू भने सहमतिबाट नेतृत्व चयन हुने सम्भावना कम भएको भन्दै प्रचार प्रसारमा लागिसकेका छन् ।
अध्यक्षका दाबेदार यज्ञराज ढुङ्गाना भन्छन्, ‘एमाले कैलालीलाई बलियो बनाउनु छ । त्यसको लागि मेरो उम्मेदवारी हो । कमजोर नेतृत्वकै कारण २०७९ को निर्वाचनमा एमालेले विरासत गुमाएको छ । अहिलेको नेतृत्वबाट पार्टी बलियो हुन सक्दैन । गुमेको विरासत जोगाउन मैले नै नेतृत्व गर्नु पर्छ ।’
कार्यकर्ता र प्रतिनिधाहरूकै इच्छा बमोजिम अध्यक्षमा दाबी गरेकोले विजय निश्चित रहेको ढुङ्गानाको दाबी छ । एमाले कैलालीका कार्यवाहक अध्यक्ष एवं अध्यक्ष पदका आकाङ्क्षी दुर्गाप्रसाद जोशीले पनि सङ्गठनलाई मजबुत बनाउन नेतृत्व गर्न तयार रहेको बताए ।
‘तत्कालीन अध्यक्षले राजीनामा दिएपछि विषम परिस्थितिमा जिल्लाको नेतृत्व मैले सम्हालेको हो । मैले नेतृत्व गरेपछि पार्टीलाई नगरबाटै बलियो बनाउँदै लगेको छु,’ उनले भने, ‘कैलालीमा एमालेलाई पहिलो पार्टी बनाउन फेरि एक पटक मैले नै नेतृत्व गर्नुपर्छ ।’
एमाले कैलाली सचिव डेजी पाण्डे पनि नवौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा आफ्नो जीत निश्चित रहेको दाबी गर्छन् । ‘सकेसम्म मैरै नाममा सहमति हुन्छ । नभए पनि मैले चुनाव जित्छु,’ पाण्डेले भने ।
अधिवेशन मार्फत पाँच पदाधिकारी सहित १५० सदस्यीय निर्वाचित हुने छन् । त्यसको लागि ५६० जना प्रतिनिधि छनोट भइसकेका छन् ।

Leave a Reply