द्वन्द्वमा बलात्कार पीडित महिलाको मुद्दालाई केही व्यक्तिले हटकेक बनाउन खोजेको देवी खड्काको आरोप

काठमाडौं । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी अध्यक्ष देवी खड्काले आफ्नो उत्थानका लागि युद्धको समयका बलात्कार पीडितका मुद्दालाई केही व्यक्तिले हटकेक बनाउन खोजेको भन्दै आपत्ति जनाएकी छन् ।

पूर्व मन्त्री समेत रहेकी माओवादी नेता खड्काले संक्रमणकालीन न्याय निरूपणको प्रक्रिया चाँडो टुंगिनु नै पीडितको पक्षमा हुने बताएकी छन् ।

खड्काले शनिवार वक्तव्य जारी गर्दै पीडितको मागलाई समेटेर कानून, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन अवस्थामा रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले पहिलो पटक द्वन्द्वकालीन समयमा भएका बलात्कारका घटनालाई कसरी सम्बोधन गर्ने भनेर स्पष्टसँग बोल्नु सुखद रहेको प्रष्ट पारेकी छन् ।

खड्काको वक्तव्यमा भनिएको छ- यद्यपि आफ्नो उत्थानको लागि पीडितका मुद्दालाई ‘हटकेक’बनाउनेहरूप्रति भने हाम्रो कडा आपत्ति छ । यसको हिसाब किताब पीडितले गरेका छन् र गर्ने छन् । कुनै एक जनालाई बोकेर सिंगो न्याय प्रक्रियालाई धमिल्याउने दुस्साहस गर्नु तपाईँहरूको लागि नै घातक हुनेछ । जब पीडितहरू आफ्नो लागि खुलेर संगठित रूपमा लड्छ र बोल्छ, दोस्रो व्यक्ति दोस्रो नै हुनेछ ।

खड्काले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा राष्ट्रिय सहमति जुटाउँदै, सिङ्गो राज्यले जिम्मेवारीपूर्वक नसोच्दासम्म पीडितले न्याय नपाउने बताएकी छन् ।

उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसद्बाट पास गर्दै कानून बनाएर आयोग मार्फत पीडितलाई जतिसक्दो छिटो न्याय दिनु राज्यको दायित्व हुने प्रष्ट पारेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *