काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतको सचिवालयबाट बिहीबार एउटा सूचना आयो । सूचना थियो, ‘बजेट र समसामयिक विषयमा शुक्रबार बिहान १० बजे अर्थ मन्त्रालय सुवर्ण हलमा पत्रकार भेटघाट कार्यक्रम राखिएको हुँदा समाचार संकलनार्थ उपस्थितिका लागि अनुरोध छ ।’
यो सूचना आएपछि तीन दिन अघिमात्र पत्रकार सम्मेलन गरेका अर्थमन्त्री डा. महतलाई के आपत पर्यो र किन यति चाँडै पत्रकारसँग भेटघाट गर्नुपर्यो होला भनेर धेरैले चासो राखे । केही सञ्चारमाध्यममा त प्रधानमन्त्री पुष्पकमल दाहाल आफूसँग छलफल नगरी अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरिएकाले अर्थमन्त्रीसँग असन्तुष्ट रहेको चर्चा चलेको थियो ।
त्यसमा प्रधानमन्त्री र अर्थमन्त्रीबीच खटपट भएको र त्यसको स्पष्टीकरण दिन पत्रकार सम्मेलन बोलाएको भनेर समाचार सम्प्रेषण भयो । तर, यो विषयमा सत्यता नभएको अर्थमन्त्री डा. महतले शुक्रबारको पत्रकार भेटघाटमा स्पष्ट पारे ।
केही सञ्चारमाध्यममा प्रधानमन्त्रीसँग छलफल नगरी अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको भन्दै सम्प्रेषण भएका समाचार झूटो भएको उनले बताए ।
अर्थमन्त्री महतले भने, ‘प्रधानमन्त्रीसँग केही विषयमा फरक मत हुनु स्वाभाविक हो । छलफलका क्रममा हामीले फरक विचार राख्छौं । तर, अर्थ मन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र प्रधानमन्त्रीले दिने निर्देशनकै आधारमा काम गरिरहेको छ ।’
माघ मसान्तमा सार्वजनिक भएको बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएको नभइ प्रस्तावित बजेट संशोधन गरेको मन्त्री महतले स्पष्ट पारे । बजेटको आकार घटाएको भन्दै आलोचना हुन थालेपछि उनले आकार घटाएको नभई प्रस्तावित लक्ष्य संशोधन गरिएको बताए ।
अर्थमन्त्री डा. महत आफैंले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेका थिए । तर, आम्दानी र खर्च नहुने देखिएपछि अर्धवार्षिक समीक्षामार्फत बजेट संशोधन गर्दै १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेको जानकारी दिएका थिए ।
शुरुवाती बजेटको अनुमान एउटा हुने र मध्यावधि समीक्षामार्फत सधैं बजेट अनुमान संशोधन गरेर घटाउने गरेको भन्दै सरकारले आलोचना हुदै आएको छ ।
अर्थमन्त्री महत आफूले संशोधन गरेको अनुमान गलत सावित होस् भन्ने चाहन्छन् । उनी भन्छन्, ‘संशोधित बजेट अनुमान गलत सावित होस्, बढीभन्दा बढी आम्दानी र खर्च होस् ।’
प्रस्तावित बजेट र खर्चको ग्याप घटाउने गरी काम गरिरहेको मन्त्री महतको भनाइ छ ।

Leave a Reply