माध्यमिक शिक्षा निःशुल्क गराउन माग गर्दै अनेरास्ववियुले गर्‍यो सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलान्चोक जिल्ला कमिटीले माध्यमिक शिक्षा निःशुल्क गराउन सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।

अनेरास्ववियुले काभ्रेका स्थानीय तह, शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।

रिटमा भनिएको छ, ‘…विद्यार्थीको निःशुल्क पढ्न पाउने संवैधानिक हक विपरीतको कार्य रोक्न विपक्षीहरुले भूमिका नखेलेको कारणले विद्यार्थी र अभिभावकलाई आर्थिक पीडा भइरहेको हुँदा, उक्त कार्यलाई रोक लगाउन अन्य कुनै प्रभावकारी वैकल्पिक उपचारको मार्ग नभएकोले बाध्य भइ सम्मानित सर्वोच्च अदालतमा यो रिट निवेदन दर्ता गर्न आएको छु ।’

नेपालको संविधानको धारा ३१ द्वारा प्रदत्त नेपाली नागरिकले कक्षा १२ (माध्यमिक तह) सम्मको शिक्षा निःशुल्क रुपमा अध्ययन गर्न पाउने मौलिक हक प्रदान गरिएको अवस्थामा त्यस्तो मौलिक हकमा अनुचित बन्देज लगाउने गरी विद्यार्थीहरुवाट विभिन्न शीर्षक अन्तर्गतको वाहनामा शुल्क असुल गर्ने कार्य भइरहेको उल्लेख छ ।

निवेदनको अन्तिम निर्णय नहुँदासम्म नेपालको संविधान एवं प्रचलित कानून विपरीत काभ्रेपलाञ्चोक जिल्लाका सरकारी एवं सामुदायिक विद्यालयले कुनै पनि नाममा शुल्क नलिनु र माध्यामिक तह सम्मको शिक्षाको लागि नेपाल सरकारले अवश्यक व्यवस्था गर्नु गराउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश समेत माग गरिएको छ ।

Comments

One response to “माध्यमिक शिक्षा निःशुल्क गराउन माग गर्दै अनेरास्ववियुले गर्‍यो सर्वोच्चमा रिट दायर”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    शिक्षा व्यवस्था बिगार्ने- निजीकरण र निशुल्कीकरण
    अर्थ व्यवस्था बिगार्ने- उदारीकरण र बजारीकरण
    न्याय व्यवस्था बिगार्ने- र दलालीकरण
    प्रशासनिक व्यवस्था बिगार्ने- कमिसन र घुस
    जनता बिगार्ने- खराब शिक्षा र पलायन संस्कृति
    अनि राजनीति पनि बिग्रियो बिग्रिएको शिक्षा, अर्थ, न्याय, प्रशासन र जनताका कारणले। यो यथार्थ हामीले बुझ्नै सकेनौं। यतिबेला निशुल्क शिक्षाको पक्षमा होइन गुणस्तरीय शिक्षाको पक्षमा पैरवी गर्नुपर्थ्यो।
    जनताको चेतना र राज्यको क्षमताले निःशुल्क शिक्षा खोजेको छैन्। सस्तो राजनीति नगरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *