जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो राष्ट्रिय मुक्ति आन्दोलनको तयारी थालेका छन् । आन्दोलनको तयारीका लागि महतो मधेश दौडाहामा छन् ।
बिहीबार सिरहाको लहान पुगेर महतो मधेशका अगुवाहरुसँग छलफल गरेका हुन् । लहान मधेश आन्दोलनको उद्गमस्थल मानिन्छ । त्यसैले यहीबाट अगामी आन्दोलनको तयारी स्वरुप मधेशका अगुवा बुद्धिजीवि तथा नेताहरुसँग छलफल गरेको बुझिएको छ ।
सो छलफलमा नेता महतोले अब आन्दोलन जित्नेगरी गर्ने तयारीमा जुट्न आग्रह गर्दै भने, ‘राष्ट्रिय मुक्ति आन्दोलनका लागि मानसिक रुपले तयार हुनकै लागि यो छलफल आयोजना गरेका छौं । छलफल र बहस सुरु गरिहाल्नुपर्छ भनेर तपाईहरुलाई दुःख दिएका छौं । भोलीदेखि नै लडाई गर्नुपर्छ भन्ने छैन । दुईवर्ष पछि पनि हुनसक्छ । तयारी गरिहाल्नुपर्छ ।’
उनले विगतका आन्दोलनबाट प्राप्त उपलब्धीको उपयोग गरी आन्दोलन गर्नुपर्ने, त्यसको यूवाहरुले गर्ने र सबै ठाउँमा यूवाहरुको समूह निर्माण गर्ने बताए । ‘अबको लडाई कुनैपनि हालतमा जित्नुपर्छ’, उनले थपे ।
पटक पटक संघर्ष गर्दापनि अधिकार र पहिचान नपाएको नेता महतोको भनाइ छ । उनले भने, ‘पटक पटक संघर्ष गर्यौं । ६ महिनासम्म पनि ऐतिहासिक लडाई लड्यौं । तर अझै अधिकार र पहिचान पाउन सकेनौं । आन्दोलन र संघर्ष गर्दा पनि हाम्रो कुरा चौराहामै रह्यो ।’
विगतमा संघर्ष गर्दा प्राप्त उपलब्धी पनि शासकले विस्तारै खोस्न थालेको उनको गुनासो छ ।
‘जे भेटेन, त्यो त पाउन बाँकी नै छ । भेटेको पनि खोस्ने खोज्दैछ’, नेता महतोले भने, ‘एक त सम्मानित जीवन भेटेन । जति भेट्यो, त्यसलाई पनि अपमानको जीवनमा बदल्ने प्रयास भइरहेको छ ।’
१० वर्ष अगाडी मधेश र मधेशीको नाममा अलि अलि रेस्पोन्टस पनि हुन्थ्यो तर अहिले त्यो पनि नहुने गरेको उनले बताए । मधेश आन्दोलनलाई राज्यले अपराधको रुपमा लिएको र त्यसकारणले पनि अब राष्ट्रिय मुक्ति आन्दोलन गर्ने तयारीमा लागेको उनको भनाई छ ।
नेपाल सबै नेपालीको हो । नेपाल बनेका बेला नै पृथ्वीनारायाण साहले भनेका थिए– साँझा फुलवारी । ४ वर्ण ३६ जातको साझा फुलवारी हो’, नेता महतोले भने, ‘तर त्यसपछि कुनै शासक देशलाई साझा फूलवारी बनाउने प्रयास गरेनन् । मधेशीको पनि देश हो । मान, सम्मान, अधिकार र पहिचान चाहिन्छ । योको चिन्ता र प्रवाह राज्यले गरेनन् । आदिवासी, जनजाती पनि यही देशको नागरिक हुन् भन्ने सोचेनन् ।’
संविधान बन्न लाग्दा मधेशीले सडकमा आएर पनि अधिकार र पहिचान माग्दा जवाफमा गोली खानुपरेको नेता महतोले बताए । ‘अन्य देशको नागरिक सरह मधेशीको टाउँको र छात्तीमा गोली मारेर जर्वजस्ती संविधान लाद्ने काम भयो । त्यसैले अब अन्तिम लडाई गर्नुपर्छ ।’

Leave a Reply