कोशी र मधेश प्रदेशमा फागुनदेखि सवारी दर्ता, नामसारी र नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं । सरकारले फागुन १ गतेदेखि कोशी र मधेश प्रदेशमा नयाँ सवारी दर्ता र नामसारी गर्दा इम्बोस्ड सवारी नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ (२) को द्रष्टव्य खण्डको बुँदा नम्बर १४ ले दिएको अधिकार प्रयोग गर्दै यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार फागुन १ गतेदेखि नै कोशी र मधेश प्रदेशमा सार्वजनिक सवारी र पर्यटक सवारीमा नयाँ सवारी दर्ता र नामसारीमा यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा दर्ता कायम रहेका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय भएको हो ।

यी प्रदेशमै निजी, सरकारी र संस्थानका सवारीमा सवारी दर्ता प्रमाणपत्र नवीकरण २०८१ जेठ १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय भएको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार तोकिएको मिति अगाडि नै कुनै सवारी धनीले रीतपूर्वक निवेदन दिएर निर्धारित दस्तुर बुझाएमा तोकिएको मितिभन्दा अगाडि पनि सम्बन्धित यातायात व्यवस्था कार्यालयले त्यस्तो सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *