माओवादीले २०५२ सालमा बुझाएको जस्तै मागपत्र सरकारलाई बुझाएर ‘निर्णायक’ संघर्षमा होमिँदै राप्रपा

काठमाडौं । राजसंस्थावादी प्रमुख राजनीतिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी राजा फर्काउने एजेन्डासहित फागुन ९ गते सडक संघर्षमा होमिने भएको छ । आज बसेको आन्दोलन परिचालन समितिको बैठकले फागुन ९ गते प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै आन्दोलन सुरु गर्ने निर्णय गरेको हो ।

राप्रपाले आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा आन्दोलन परिचालन कमिटी गठन गरेको थियो । अध्यक्ष लिङदेन र निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसमेतको उपस्थितिमा आज बसेको बैठकमा शीर्ष नेताहरु सहभागी थिए । उनीहरुले आन्दोलनको स्वरुप तथा मागपत्रका विषयमा आआफ्नो सुझाव पेश गरेका छन् । सबैको सुझाव समेटेर मागपत्रलाई अन्तिम रुप दिइने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

माओवादीले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाउँदै जनयुद्धमा होमिएकै शैली राप्रपाले अख्तियार गरेको हो । माओवादीले गणतन्त्रका लागि जनयुद्ध लडेको थियो भने राप्रपाले राजतन्त्र पुनःस्थापनाको माग अघि सार्नेछ । राप्रपाको मागपत्रमा धर्मनिरपेक्षता खारेज गरेर हिन्दू राष्ट्र पुनःस्थापना, संघीयताको खारेजी जस्ता प्रमुख राजनीतिक मुद्दा रहनेछन् । जनजीविकासँग सम्बन्धित विषयहरुलाई पनि राप्रपाले आफ्नो मागपत्रमा समेट्ने छ ।

मागपत्र पूरा गर्न प्रधानमन्त्री तत्काल तयार नभएमा पहिलो चरणको आन्दोलन राप्रपाले सुरु गर्नेछ । जसमा देशव्यापी रुपमा जागरणसभा आयोजना हुनेछ । त्यसपछि फागुनको तेस्रो हप्ता काठमाडौं केन्द्रित शक्ति प्रदर्शन गर्ने राप्रपाको तयारी छ । सोपश्चात राप्रपाले थप कार्यक्रम ल्याउनेछ । राप्रपाले यो आन्दोलन निर्णायक बनाउने दाबी गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *