समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीलाई स्वावलम्बी बनाउन आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्ने बताएका छन् ।

‘समाजलाई सभ्य सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्छ’, गार्गी कन्या गुरुकुलमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको मङ्गलवार उद्घाटन गर्दै पौडेलले भने, ‘देशमा रहेका गुरुकुलमा कन्याहरूलाई यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसले कन्याहरूलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । यस गुरुकुलका लागि राज्यले पनि विशेष ध्यान दिनेनैछ भन्ने मैले विश्वास लिएको छु ।’

उनले ऋषिमुनि र तपस्वीहरूको आदर्शको अनुसरण गर्दै देवघाटधाममा सन्त महात्माहरूले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताए ।

उनले भने, ‘गुरुकुल यौटा वैज्ञानिक र व्यवहारमुखी शिक्षापद्धति हो । यसबाट शिक्षित जनशक्तिले आफ्नै माटोको मौलिक संस्कार, संस्कृति, सहअस्तित्व र स्वाभिमानको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लागेको छ ।’

उनले विश्वको सबैभन्दा प्राचीन ग्रन्थ वेद हो र आध्यात्मिक ज्ञान, विज्ञानको मूल पनि वेदलाई मानिएको बताउँदै त्यस्तो अगाध ज्ञानको स्रोत भएको वेदको र वैदिक सनातन संस्कृतिको उद्गमभूमि नेपाल भएको र नेपाल देवभूमि र अध्यात्म साधनाभूमिको रूपमा चिनिने गरिएको उल्लेख गरे ।

पौडेलले परापूर्वकालमा यहाँका विभिन्न पावन तीर्थमा रहेर वसिष्ठ, विश्वामित्र, याज्ञवल्क्य, अष्टावक्र र गार्गीजस्ता ऋषिमुनिहरूले कठोर साधना गरेको तथा आफ्नो तपस्याको बलमा अलौकिक शक्ति आर्जन गरेको उल्लेख गर्दै उनीहरूले तपस्याद्वारा प्राप्त गरेको वैदिक र आध्यात्मिक ज्ञानले समाजलाई आलोकित बनाएको कुरा विभिन्न ग्रन्थहरूमा पाइएको पनि बताए ।

राष्ट्रपति पौडेलले देशकै पहिलो कन्या गुरुकुलको रूपमा गार्गी कन्या गुरुकुल सञ्चालन हुनु खुशीको विषय भएको बताउँदै वैदिक कालमा गार्गी मदालसा, घोषा अपालाजस्ता विदुषीहरूले ज्ञानको ज्योति छरेर समाजलाई मार्गदर्शन गरेको उल्लेख गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *