माओवादीमा पदाधिकारी चयन प्रक्रियाकाे विषयमा नेताहरुबीच मतभेद, नेतृत्वमा प्रचण्डको विकल्प नखोज्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलनअघि पदाधिकारी बैठक बोलाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमै बस्ने गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएको सचिव गणेश शाहले बताए।

बैठकमा विधान सम्मेलनको एजेन्डाबारे छलफल हुने उनले बताए। विधानलाई पूर्णता दिने विषयमा प्रचण्डले हिजो केन्द्रीय कमिटी बैठकपछि पनि पदाधिकारीसँग छलफल गरेका थिए। तर, विधानको बारेमा सहमति हुन सकिरहेको छैन।

पदाधिकारी बैठकले संघीयतामा पार्टीलाई कसरी अघि लाने र पार्टीको नेतृत्व कसरी चयन गर्ने भन्ने विषयलाई टुंग्याएपछि मात्रै सम्मेलन सुरु हुने एक नेताले बताए।

ती नेताले भने, ‘पदाधिकारी चयन कुन विधिबाट गर्ने सहमतिमा पुगेको छैन। छलफल भइरहेको छ। नेतृत्व चयन प्रत्यक्ष गर्ने कि कति प्रत्यक्ष कति समानुपातिक भन्नेमा सबैले आआफ्नो धारणा राख्नुभइरहेको छ कुरा मिलिसकेको छैन।’

पार्टी नेतृत्वसहित पार्टी कमिटीको विषयमा पार्टीले विधानको मस्यौदा कार्यदलले तयार पारेको मस्यौदामा नेताहरूले असन्तुष्टि जनाएका छन्।

ती नेताले भने, ‘प्रस्ताव भएको कमिटी र नेतृत्वको विषयमा पनि कुरा उठेका छन्। पदाधिकारीको संख्याबारे विभिन्न प्रस्ताव आएका छ। अहिले पदाधिकारीको विषयमा छलफल भएपनि प्रचण्डको विकल्प खोज्ने तहसम्म छलफल भएको छैन।’

पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो । आजबाट तीन दिनसम्म चल्ने सम्मेलनले पार्टीको विधानलाई पूर्णता दिनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *