कैलाली । आज ‘जनयुद्ध दिवस’ । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गर्दा पनि माओवादी केन्द्रले जितेको पालिकाहरूमा स्थानीय बिदा दिइएको छ । यसैबीच कैलालीको वडा कार्यालयले पनि आज कार्यालय बन्द रहेन सूचना जारी गरेको छ।
कैलाली गौरीगङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजकुमार थारुले एक विज्ञप्ति जारी गरेर साँझ ७ बजे दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाउने र आज वडा कार्यालय बन्द रहने जानकारी गराइएको छ ।
वडाध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित हुन् । गौरीगङ्गा नगरपालिकाका मेयर देवीदत्त कँडेल पनि माओवादीबाट निर्वाचित हुन्। नगरपालिकाले भने स्थानीय बिदा दिएको छैन तर, सोही नगरपालिकाको वडा कार्यालयले भने जनयुद्ध दिवस मनाउने र कार्यालय बन्द हुने सूचना जारी गरेको छ ।
यस अघि हिजो कैलालीकै मोहन्याल गाउँपालिकाले पनि एक विज्ञप्ति जारी गरेर जनयुद्ध दिवसमा स्थानीय बिदा दिएको जनाएको थियो ।
गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिएको जानकारी गराएका थिए । साथै उक्त दिन सहिद बेपत्ता र घाइते भएका व्यक्तिहरू तथा आफन्तलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत जनाएका छन् ।
यस अघि सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरूको भावना चोट पर्न सक्ने भन्दै जनयुद्ध दिवसमा बिदा दिने निर्णय खारेज गरेको थियो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक हाल संसद्मा विचाराधीन छ ।
१ फागुनमा सशस्त्र द्वन्द्व सुरु भएको मितिलाई स्मरण गर्दै गत वर्ष मन्त्रिपरिषद्ले उक्त दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउने र बिदा दिने निर्णय गरेको थियो । गत वर्ष २९ माघमा सरकारले गरेको यस निर्णयविरुद्ध रिटहरू दायर भएका थिए । द्वन्द्वपीडितहरूले यस बिदाले आफूहरूको भावनामा चोट पुगेको दाबी गरेका थिए ।

Leave a Reply