हक्की संघ र नेपाल नेशनल अस्पतालबीच खेलाडीहरुको उपचार गर्ने सम्झौता

काठमाडौं । नेपाल हक्की संघ र नेपाल नेशनल अस्पतालबीच खेलाडीहरुको उपचार सेवासम्बन्धी सम्झौता भएको छ ।

नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले सोमबार एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार अस्पतालले नेपाल हक्की संघमा आवद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिनेछ । अस्पतालका मेडिकल निर्देशक डा.पौडेलले खेलाडीहरुको उपचारका सम्बन्धमा अस्पताल सदैव साथमा रहने बताउँदै ढुक्क भएर खेलमा केन्द्रित हुन आग्रह गरे ।

‘अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई दिने उपचार सेवामा जोडिन पाउनु हाम्रो लागि खुशीको कुरा हो । खेलाडीहरुलाई सहयोग पुगोस् भन्ने हाम्रो प्रयास हो’, उनले भने, ‘म खेलाडीहरुलाई ढुक्क भएर खेलमा केन्द्रित हुन आग्रह गर्दछु ।’

नेपाल हक्की संघकी महासचिव श्रेष्ठले सम्झौताका लागि अस्पताललाई धन्यवाद दिँदै भनिन्, ‘खेल र ट्रेनिङका दौरान खेलाडी घाइते हुन्छन् । आर्थिक समस्याका कारण चिन्ता लिएर खेल्नुपर्ने अवस्था छ । अस्पताल उपचारका लागि अगाडि बढेकाले चिन्ता हटेको छ, हामी ढुक्क भएका छौ ।’

उनले अस्पताल र संघको सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

सम्झौता कार्यक्रममा संघका सचिव असीम शर्मालगायत अन्य सदस्य तथा प्रदेश जिल्लाका पदाधिकारीहरूको उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *