विमला पौड्यालको प्रश्न- टेस्टेड र फेलहरुलाई किन उपकुलपतिको सर्टलिस्टमा राखियो ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरुलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले त्रिभुवन विश्वविद्यालयमा पहिले नै परीक्षण भइसकेका व्यक्तिहरुलाई उपकुलपतिको ‘सर्टलिस्ट’ मा पारिएको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र विश्वविद्यालयलाई र्‍याङकिङमा पछाडी धकेल्नेहरु नै सर्टलिस्टमा परेका भन्दै नियुक्तिमा राजनीतिक हस्तक्षेप हुनसक्ने आशंका व्यक्त गरिन् ।

उनले छनोट समितिले पुरानै अनुहारलाई विश्वविद्यालयको नेतृत्व दिन लागेको हो भनि प्रश्न समेत गरिन् । उनले बौद्धिक चोरीको आरोप लागेका र अख्तियारमा मुद्दा चलेकालाई किन उपकुलपतिको छनौट लिस्टमा राखियो भनेर पनि प्रश्न गरिन् ।

‘शिक्षामन्त्रीज्युको नेतृत्वमा एउटा समिति गठन भएको छ । मेरिटको आधारमा उपकुलपति लिने भनेका छौँ र छनौट तथा सिफारिस समिति बनेको छ । पहिलो कुरो त मलाई के लाग्छ भने विश्वविद्यालय जस्तो ठाउँलाई हेर्ने मान्छे भनेको, राम्रा मान्छेहरु आवेदन दिएर छनौट प्रक्रियामा आउँदैनन् । राम्रो मान्छेहरु नेतृत्वले एकदम राम्रोसँग टेस्टेड र असाध्यै राम्रो मान्छेहरु चाहीँ नेतृत्वले गएर आवेदन गर्नुस् न भनेर भन्नुपर्छ । अथवा तपाई आएर चार वर्ष यो विश्वविद्यालय सम्हाल्नुस् भन्नुपर्छ । हामीले त्यति हिम्मत गर्न सकेनौँ । आवेदनमा कति राम्रा मान्छेहरु परेकै छैनन्’, उनले भनिन्, ‘त्यो भित्र टेस्टेड फेल भएका अनुहारहरु पनि आएका छन् । किनभने पहिले विश्वविद्यालयका नेतृत्व लिइसकेका, कुनै प्रगति गर्न नसकेका र र्‍याङकिङमा विश्वविद्यालयलाई पछाडी धकेलेका मान्छेहरु पनि आएका छन् । फेरि पनि प्रधानमन्त्रीलाई मेरो एउटै प्रश्न छ, राजनीतिक हस्तक्षेप हुन दिन्न भनेर संकल्प गर्दै गर्दाखेरी टेस्टेड र फेल भएका अनुहारहरुलाई फेरि विश्वविद्यालयमा ल्याउन छानेका हो त्यो समितिले ? फेल भइसकेका मान्छेहरुलाई फेरि किन ल्याएको ? कहिले बौद्धिक चोरीको आरोप लागेका, कहिले अख्तियारबाट मुद्दा चलेका मान्छेहरुलाई किन ल्याएको विश्वविद्यालयको छनौटमा ?’

उनले त्रिभुवन विश्वविद्यालयप्रतिको विश्वास र भरोसा टुट्दै गएको पनि बताइन् ।

 

 

Comments

2 responses to “विमला पौड्यालको प्रश्न- टेस्टेड र फेलहरुलाई किन उपकुलपतिको सर्टलिस्टमा राखियो ?”

  1. bharat kumar Thapa Avatar

    गठबन्धनका गठे बोल्छन् एउटा गर्छन् अर्को

  2. ksp pyl Avatar
    ksp pyl

    तिनै टेष्टेड र फेल्डले त पैसा दिन्छन् । अन्तिममा यस्तै नियुक्त हुन्छन् किनकी तिनले दाम दिन्छन् । अहिले यिनलाई चाहिएको छ दाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *