काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने बताएका छन् ।
प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा समेत गरे ।
सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरे अनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको पनि स्मरण गरे ।
सो अवसरमा प्रधानमन्त्री दाहालले सोनाम ल्होछारका लागि सरकारले यस वर्ष पनि सहयोग गर्ने आश्वासन दिए । गत वर्षको पेमेन्ट नभएको आफूले जानकारी पाएकाले त्यसको पनि फलोअप गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।
यस्तो छ उनको भाषण
अहिले तेस्रो कार्यकालमा संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको कुरा तपाईहरुले बुझिराख्नु भएको छ भन्ने मेरो विश्वास छ । र अहिले संघीयतालाई सदृढ गर्नको लागि प्रदेशहरुलाई बलियो बनाउनका लागि संघीय निजामती ऐन हामीले मन्त्रीपरिषद्बाट टुंग्याएका छौं । र अहिले चलिराखेको सदनमा प्रश्तुत गर्ने, प्रहरी समायोजन ऐन कार्यान्वयनमा लैजाने र अन्य आवश्यक ऐनहरु पनि अन्तिम चरणमा पु¥याइएको कुरा पनि म यहाँहरुलाई जानकारी गराउन चाहन्छु । अहिले यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई वटा बैठक सम्पन्न भएका छन् ।
कार्य विस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा छ । र, अन्य प्रक्रियाहरु पनि गुणात्मक रुपले अघि बढेका छन । म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु–पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईहरुले राम्रोसँग चिन्नुभएको छ । यसको वरिपरी गोलबन्ध हुन पनि म विशेष अपिल गर्न चाहन्छु । फेरि पनि हामी शक्तिशाली हुनेछौं । पहिचान र अधिकारसँग सम्बन्धित आन्दोलनका बाँकि उपलब्धहरु हामी प्राप्त गरी छोड्ने छौं । गत साल मैले यसै मञ्चबाट तामाङ समुदायको खासगरी वागमती प्रदेशबाट मन्त्री बनाउने कुरामा, मन्त्री बन्नुहुन्छ भनेर भनेको थिए ।
मन्त्री बन्नु त भयो । प्रदेशमा बन्नुभयो । र त्यतिबेला संघमा पनि मन्त्री बनाउने कुरा भएको थियो । र म यहाँहरुलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्नसक्ने ठाउँमा छु भने अब मन्त्रीमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौं जनताको अगाडि भन्दैछु । अब संघको मन्त्रीमण्डल पुनर्गठन त हुन्छै हुन्छ । पुनर्गठन हुने बित्तिकै तामाङ मन्त्री हुन्छ ।
यो विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु । तपाई लाखौं जनसमुदायको बीचमा मैले यो कमिटमेन्ट गरेको छु । हाम्रो कर्मचारीतन्त्र, हाम्रो विधि, विधान र प्रक्रिया निकै जटिल छ । मैले पक्कै पनि गतसाल भनेको हो–विगतको भन्दा दोब्बर गरेर तामाङ ल्होछारका लागि सहयोग हुन्छ । मैले त सही गरेर दिएको पनि हो । यहाँ उद्घोषकले घुमेको घुमेकै गरेको अर्थ र पर्यटन मन्त्रालयमा भनेर भन्नुभएको छ । म पोहोरलाई पनि फलो गर्छु । र त्यत्तिकै मात्रामा यो वर्षको सोनाम ल्होसारको लागि पनि तपाईहरुलाई सहयोग गर्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु । सहयोग गरेर दिएको पनि हो ।’

Leave a Reply