केकी अधिकारीको प्रष्टीकरण: पोयट आइडलमा म दर्शकको प्रतिनिधि बनेर जज गर्नेछु

काठमाडौं । नायिका केकी अधिकारीलाई कविताको रियालिटी शो ‘पोयट आइडल’ को जज बनाइएको समाचारसँगै उनको निकै ट्रोल भयो । चलचित्रमा अभिनय गर्ने कलाकारलाई कविताको मूल्यांकन गर्ने जिम्मेवारी दिइँदा धेरैले यसलाई ठट्टा सम्झिए ।

सामाजिक सञ्जालमा तीव्र टीकाटिप्पणी भइरहँदा केकी भने मौन थिइन् । कुनै प्रष्टीकरण नदिई बसेकी उनले आज पोयट आइडलद्वारा आयोजित औपचारिक पत्रकार सम्मेलनमा मुख खोलेकी छन् । उनले कविताको मूल्यांकन गर्न सक्ने आत्मविश्वास प्रस्तुत गरिन् ।

केकीका अनुसार सुरुमा अफर आउँदा उनलाई पनि अलमल भएको थियो । उनले कार्यक्रम निर्माता अमन अधिकारीलाई आफूलाई रोज्नुको कारण सोधेकी थिइन् । अधिकारीको जवाफ उनलाई चित्त बुझ्दो लाग्यो ।

केकीको भनाइ उनकै शब्दमा:

म एकदमै खुशी र उत्साहित छु । यत्रो ठूलो जिम्मेवारी दिनुभएको छ । म पनि एउटा रियालिटी शोको निर्माण समूहमा छु । साँच्चिकै भन्नुपर्दा यो खालको रियालिटी पनि बन्न सक्छ र रु भन्ने लाग्थ्यो । कमर्सियल रियालिटी शो त धेरै छन्, साहित्य र कविताप्रति मोह जगाउन अभिप्रेरित गर्ने यो रियालिटी शोको अवधारणा आफैँमा फरक हो ।

सिजन २ मा मलाई किन र केका लागि रोजियो भन्ने चाहिँ मभन्दा बेटर अर्गनाइजर टिमे भन्न सक्ला । तर मैले पनि यो प्रश्न सोधेको थिएँ । मैले अमन दाइलाई ह्वाई मि ? भन्दा उहाँले भन्नुभयो, यो एउटा रियालिटी शो हो । दुई वरिष्ठ कवि विप्लव दाइ र उपेन्द्र दाइ पहिल्यै हुनुहुन्छ । उहाँहरूले छन्दका कुराहरू, भावका कुराहरू हेर्नुहुन्छ, वाचन शैली मिले नमिलेको हेर्नुहुन्छ । हामीलाई यस्तो व्यक्ति चाहिएको छ जसले दर्शकको प्रतिनिधित्व गर्न सकोस् । कुनै पनि प्रतियोगीले आफ्नो रचनालाई प्रस्तुत गरेपछि त्यसलाई दर्शक श्रोताले कसरी श्रवण गर्न सक्छन् भनेर शब्दमा व्यक्त गर्न सक्ने खालको जज चाहिएको हो । तिमी मेरो दर्शकको प्रतिनिधि हुन्छौ ।

मैले यो अवसर र चुनौती सहर्ष स्वीकार गरेँ । दिइएको भूमिकालाई इमानदारिताका साथ निर्वाह गर्ने छु । मलाई धेरै दर्शकको साथ चाहिन्छ । सबैभन्दा ठूलो निर्णायक दर्शक हो । दर्शकको प्रतिक्रिया पनि चाहिन्छ । जुन तरिकाका कुराहरू आए, त्यसलाई हामीले सकारात्मक दृष्टिकोणले नै लियौँ । यसले हाम्रो रियालिटी शोप्रति दर्शकहरू कति गम्भीर हुनुहुँदो रहेछ भन्ने पुष्टि भयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *