माई पे मनि ट्रान्सफरले पायो रेमिटेन्स भित्राउने लाइसेन्स

काठमाडौं । माई पे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिटेन्स) भित्राउने लाइसेन्स प्राप्त गरेको छ ।

लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरूबाट नेपालमा रेमिटेन्स भित्राउने योजना बनाएको छ । यससँगै केही दिनभित्र नै व्यावसायिक कारोबार सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

‘हामीले विदेशबाट डिजिटल माध्यमबाट नै नेपालको कुनै पनि बैंक खातामा रकम पठाउन मिल्ने सिस्टम बनाएका छौँ,’ माई पे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले भने, ‘युवाहरूलाई लक्षित गरी सुरक्षित र विश्वासिलो रेमिटेन्स कम्पनी बन्ने हाम्रो पहिलो लक्ष्य हो ।’

यसका साथै माई पे मनि ट्रान्सफरमा पैसा पठाउँदा विभिन्न वालेटबाट पे आउट गर्न मिल्ने तथा १० हजार भन्दा बढी भौतिक एजेन्टबाट समेत रकम प्राप्त गर्न सकिने कम्पनीको भनाइ रहेको छ ।

परम्परागत रूपमा हुँदै आएको रेमिटेन्स कारोबारलाई नयाँ आयाम दिँदै न्यूनतम लागतमा रेमिटेन्स पठाएर आफ्ना ग्राहकहरूलाई अतिरिक्त लाभ महसुस गराउने कम्पनीको योजना रहेको भट्टराईले बताए ।

नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ जारी भएपश्चात् पहिलो कम्पनीका रूपमा माई पेले लाइसेन्स प्राप्त गरेको हो । नयाँ विनियमावलीमा नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको लाइसेन्सको लागि २ करोड चुक्ता पूँजीलाई बढाएर १० करोड पुर्‍याएको थियो ।

माई पे मनि ट्रान्सफरले लाइसेन्स पाएसँगै हालसम्म रेमिट्यासका कारोबारका लागि ३७ वटा कम्पनीहरूले इजाजत पत्र प्राप्त गरेका भए पनि हाल २१ कम्पनीहरूको मात्रै सञ्चालनमा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *