विदेश अध्ययनमा जानेलाई बैंक डिपोजिट देखाउन सहयोग गर्दा ४० लाख ‘झ्वाम’

काठमाडौं । वैदेशिक अध्ययनमा जाने व्यक्तिलाई बैंक डिपोजिट देखाउन सहयोग गर्दा एक व्यक्तिको ४० लाख रुपैयाँ गिरोहले झ्वाम पारेको छ । नुवाकोटका मानसिंह तामाङलाई नक्कली विद्यार्थी खडा गरेर गिरोहेले ठगी गरेको पाइएको हो ।

प्रहरीका अनुसार तामाङलाई बानेश्वरमा नेपाल अब्रोड कन्सल्टेन्सी सञ्चालन गर्ने श्रीजन राज काफ्लेले सुरज कुमार लुङ्गेली मगर नाम गरेका विद्यार्थीलाई क्यानडा जान तत्काल बैंक डिपोजिट देखाउन पैसा चाहिएको भन्दै तामाङलाई फोन गरेका थिए ।

लगेको भोलिपल्टै पैसा फिर्ता पाउने विश्वासमा तामाङले गत डिसेम्बर २० तारेख सुरजलाई नबिल बैंकमा रहेको खाताबाट ४० लाख रुपैयाँको चेक काटेर दिएका थिए ।

जाहेरवालाका अनुसार सुरज आफैले ब्यालेन्स सर्टिफिकेट चाहिने भएकाले उक्त बैंक डिपोजिट आवश्यक परेको उल्लेख गरेका थिए। तर दिइएको रकम फिर्ता नपाएपछि तामाङ झस्किएका थिए। त्यसपछि उनी प्रहरीमा पुगे ।

आफूलाई काफ्लेले प्रयोग गरेको सुरजको बयान, ‘झिकेको रकमबाट सिक्री जोडे’

प्रहरीले पक्राउ गरेपछि सुरजले आफूलाई काफ्लेले प्रयोग गरेको र उनकै योजनामा आफू नक्कली विद्यार्थी बनेर पैसा लिन तामाङकहाँ पुगेको बयान दिएका छन्। उनका अनुसार पैसा जम्मा भएको भोलिपल्टै सुरज र काफ्लेले बैंकमा पुगेर १० लाख रुपैयाँ झिकेका थिए।

त्यसमध्ये ५ लाख काफ्लेलाई दिएको र बाँकी ५ लाखमध्ये एक लाख रुपैयाँ पारस गुरुङ भन्ने व्यक्तिलाई दिएको बताएका छन् । बाँकी रहेको ४ लाखमध्ये एक लाख ३० हजारको सुनको सिक्री खरिद गरेको, ६५ हजार रुपैयाँ पोखरा घुम्न जाँदा खर्च भएको र २ लाख ५ हजार रुपैयाँ थप पारसलाई दिएको उनको दाबी छ ।

पछि काफ्लेले सुरजको बैंक खाताबाट २७ लाख ५० हजार रुपैयाँ लिएका थिए । सुरजको दाबीअनुसार उनको बैंक खातामा रहेको बाँकी २ लाख ५० हजार रुपैयाँ जडीबुटीस्थित होटलमा खान बस्दाको बिलबापत तिरिएको थियो । प्रहरीका अनुसार काफ्लेले आफूलाई दीपक रानामगर, जेनिथ दाहाल, नरबहादुर दाहाललगायत नामले पनि चिनाउने गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *