ओलीलाई बालेनको प्रश्नपछि एमाले नेताहरूको जवाफ- पार्किङको लागि केही गर्न नसकेको स्वीर्कानुस्

काठमाडौं । निर्माणाधीन धरहराको भूमिगत पार्किङको विषयमा काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको अभिव्यक्तिप्रति एमाले नेताहरू चिढिएका छन्।

भूमिगत पार्किङ रोक्न शहरी विकास मन्त्रालयले महानगरलाई पत्र पठाएपछि बालेन आक्रोशित बन्दै उद्घाटन गर्ने पूर्व प्रधानमन्त्री केपी ओलीप्रति खनिएपछि एमाले नेताहरू बचाउमा लागेका छन्।

मन्त्रालयको पत्रपछि बिच्किएका बालेनले सोमबार लेखेका थिए, ‘…उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

बालेनको अभिव्यक्तिपछि एमालेका महासचिव शंकर पोखरेलले ओलीले धरहरा निर्माण कार्य सम्पन्न भइसकेपछि उद्घाटन गरेको उल्लेख गर्दै अरू परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्ब भएको दाबी गरेका छन्।

ओलीलाई बालेनले मुछेपछि त्यसको प्रष्टीकरण दिँदै महासचिव पोखरेलले भनेका छन्, धरहरा पुनर्निर्माण परियोजना अन्तरगत त्यसलाई नयाँ स्वरूपमा निर्माण गर्ने गरी पाँच भागमा विभक्त गरिएको थियो ।

पहिलो, पुरानो धरहराको बचेको भागलाई पारदर्शी सिसाले छोपेर जस्ताको त्यस्तै संरक्षण गरी सुरक्षित राख्ने ।

दोस्रो, त्यसको छेवैमा पुरानो स्वरूपमा तर नयाँ प्रविधिको प्रयोग गरी सुरक्षित धरहराको निर्माण गर्ने ।

तेस्रो, भूकम्पको बारेमा जानकारी गराउने हिसाबले म्युजियमको निर्माण गर्ने ।

चौथो, भित्री सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अन्डर ग्राउन्ड पार्किङ स्थल निर्माण गर्ने र पाँचौँ अन्डर ग्राउन्ड पार्किङको माथिल्लो भागमा बगैँचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने । त्यसका लागि गोस्वारा हुलाकसमेतको वरिपरिको सरकारी जमिन समेत प्रयोग गरिएको छ ।

तात्कालिक प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो । जसको निर्माण कार्य उति वेलै सम्पन्न भइसकेको छ । अरू परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्ब भएको छ । तर निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ । यो परियोजनाको दूरदर्शी दृष्टिकोण र महत्त्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक हो ।

महासचिव पोखरेलले मात्रै होइन एमालेका सचेतक महेश बर्तौँलाले भूकम्पले बनाएको भग्नावशेषमा धरहरा साढे दुई वर्ष अघि नै उभिएको दाबी गरे।

उनले भने- ‘धरहरा बनाए बापत गाली गर्नुहुन्छ भने गर्नुस्, तर पार्किङ गर्ने विषयमा झगडा गरेर शक्ति खर्च नगर्नुस्। बरु पार्किङको लागि दुई वर्षमा केही काम गर्न नसकेको कमजोरी स्वीकार गरेर आफैँले गर्नु पर्ने काम गर्नुस्। झगडा र जस पाउने होडबाजीले काम हुँदैन  ।’

यता, शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौँ महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग उनले भनिन्, ‘निर्माण सम्पन्न नभई महानगरले जबरजस्त रूपमा पार्किङ गर्नु विधिको शासन उल्लंघन हो। समन्वय र छलफल नगरी एकलौटी रूपमा पार्किङ गर्न सान्दर्भिक हुँदैन। महानगरले पत्रलाई प्राथमिकता दिएको छैन। यसरी नै जाने हो भने राम्रो परिणाम हुँदैन।’

Comments

4 responses to “ओलीलाई बालेनको प्रश्नपछि एमाले नेताहरूको जवाफ- पार्किङको लागि केही गर्न नसकेको स्वीर्कानुस्”

  1. सरोज थपलिया Avatar
    सरोज थपलिया

    त्यसोभए जुनजुन भाग सकिन्छ त्यही उद्घाटन गर्नपर्ने रहेछ, सुन्धारा क्षेत्रमा पाँच पटक उद्घाटन गर्नपर्ने भयो🤣

  2. Tarasingh Avatar

    धरहरा निर्माण कार्य सकिएको भन्ने बिषयमा भन्दा त्यहा सम्पुर्ण बन्नु पर्ने भौतिक संरचनाहरु पुर्णरुपमा सकिए मात्र उद्घातन गर्न योग्य हुन्छ्।जतिवता भाग निर्माण हुन्छ उति पटक उदघातन गर्ने होइन्।पुर्णरुपमा निर्माण नहुदै उद्घातन गर्न नेकपा एमालेलाइ किन हतार गरियो? आखिर नाम लेखाउनलाइ मात्र हो भन्ने बुझिन्छ्।पार्किङ्गको बिषयमा भन्दा पार्किङ्ग सुबिधा किन नदिने? के त्यो नेपालि जनताले कर तिरेर निर्माण गरेको होइन? नेपालि जनताले पार्किङ्ग सुबिधा नपाउने? मेयर बालेन शाह ज्यु जसले जे भने पनि न्यायपुर्ण कार्यमा अगादि बढ्नुहोस जनताले साथ दिने नै छन्।

  3. bhojraj regmi Avatar
    bhojraj regmi

    पटक पटक उद्घाटन गर्ने रुटिन जारि गरे राम्रो हुनेथियो कि ,सवैको पालो पनि पुग्ने।

  4. Mukti Ram Subedi Avatar
    Mukti Ram Subedi

    हाम्रा नेताहरू लाज लाग्दैन धरहरा आजसम्म निर्माण कार्य सकिएको छैन । बालेनले पार्किङ ठेक्का गर्न दिएनन् कमिशन घुसखोरी गर्न पाएन भनेर नेताहरू अतालिन थालेको प्रष्ट देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *