वैदेशिक रोजगारीका नाममा ८४५ जनाबाट पौने चार करोड ठगी गर्ने लामा पुर्पक्षमा जेल चलान

काठमाडौं । वैदेशिक रोजगार न्यायाधीकरणले वैदेशिक रोजगारीका नाममा आङपासाङ शेर्पासहित ८४५ जनासँग पौने चार करोड ठगी गर्ने लालबहादुर लामा पुर्पक्षमा जेल चलान गर्न आदेश दिएको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष कृष्ण गिरी, सदस्य निशा बानियाँ र उद्धवप्रसाद पुडासैनीको संयुक्त इजलासले न्यायाधीकरणमा परेको जाहेरीका आधारमा तीन करोड ९३ लाख १४ हजार ३३३ ठगी गरेको गर्ने लामालाई पुर्पक्षमा जेल चलान गर्न आदेश दिएको हो ।

लामाले शेर्पासहित ८४५ जनालाई वैदेशिक रोजगारका लागि लुथनियालगायतका देशमा पठाइदिन्छु भन्दै उक्त रकम बुझी लिएको र रकम लिइसकेपछि भनेको मुलुकमा नपठाएको तथा लिएको रकमसमेत फिर्ता गरेका थिएनन् ।

इजलासमा बयान दिने क्रममा लामाले अपराध स्वीकार गरेको तथा प्राप्त प्रमाणबाट उनी कसुरदार ठहर भएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको वैदेशिक रोजगार न्यायाधीकरणका सूचना अधिकारी सुशीला पाण्डेले जानकारी दिइन् ।

उनका अनुसार वादीको तर्फबाट उप-न्यायाधिवक्ता मुना पौडेल र प्रतिवादीको तर्फबाट अधिवक्ता तेजप्रसाद न्यौपानेले बहस गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *