गाईभैँसीको बिमा र सुत्केरी स्याहार भत्ता

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि  बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो ।

आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र ५० प्रतिशत लागत साझेदारीमा बिमा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको पशुपक्षी विकास शाखा प्रमुख डा. सुनिल ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार कृत्रिम गर्भाधानबाट सुत्केरी भएका गाई भैँसीका लागि गाउँपालिकाले रु एक हजार पाँच सय उपलब्ध गराउनेछ । पशुमा कृत्रिम गर्भाधान बढाउन पालिकाले पहिलो पटक पशु सुत्केरी भत्ता कार्यक्रम ल्याएको उनले जानकारी दिए ।

पालिकाले कृत्रिम गर्भाधान कार्यक्रम सातवटै वडामा लागू गरेको छ । छ महिनाको अवधिमा तीन सय ५० पशुलाई कृत्रिम गर्भाधान गराइएको तर यो सङ्ख्या न्यून रहेकाले बढाउनका लागि कार्यक्रम सञ्चालन गरिएको प्रमुख ज्ञवालीले बताए । नश्ल सुधारमार्फत दूधको उत्पादन बढाउनका लागि पालिकाले किसानलाई प्रोत्साहन गरिरहने उनको भनाइ थियो ।

सुत्केरी स्याहार भत्ताका लागि सम्बन्धित पशुधनीको नागरिकताको प्रतिलिपि, कृत्रिम गर्भाधान गरेको रेकर्ड देखिने कृत्रिम गर्भाधान कार्ड, सुत्केरी माउ तथा बाच्छाको स्पष्ट देखिने तस्बिर, पशुधनीको बैंक खाता नम्बरसहितको निवेदन किसानले गाउँपालिकामा पेस गर्नुपर्नेछ ।

विसं २०८० वैशाखदेखि फागुन ८ गतेसम्म सुत्केरी भएका पशुमा मात्र यो नियम लागू हुने पालिकाले जनाएको छ । यस्तै गाई, भैँसीको बिमा गर्दा जम्मा बिमाङ्कको ८० प्रतिशत सङ्घीय सरकार, १० प्रतिशत गाउँपालिका र १० प्रतिशत कृषक स्वयंले व्यहोर्न पर्नेछ । बिमा गर्दा व्यक्तिगत गोठालो दुर्घटना बिमा पनि गरिने प्रमुख ज्ञवालीले बताए । लम्पिस्कीन तथा खोरेत रोगविरुद्ध खोप लगाइसकेका गाई, भँैसी र व्यावसायिक फार्महरुलाई पहिलो प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले वडा नं ३, ४, ५ र ७ मा गाई भैँसी पालेर दूध बिक्री गर्ने किसान धेरै रहेको बताए । ती वडाका किसानले गाई भैँसी पालेर दूध बिक्री गर्ने गरेका छन् । गाउँपालिकाले किसानका गाई र्भँसीका गोठ सुधार कार्यक्रम पनि सञ्चालन गरिरहेको अध्यक्ष गुरुङले बताए।

बढी दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप पुरस्कार उपलब्ध गराउने पालिकाको तयारी रहेको उनले जानकारी दिए । पशु उत्पादनलाई बढावा दिन, सुत्केरी पशुको आहारा तथा सुसारमा कमी नहोस् भन्ने उद्देश्यले कृषकको प्रोत्साहनका लागि पालिकाले अभियान सुरु गरेको उनले बताए ।  गाउँपालिकामा तीन हजार भन्दाबढी कृषि र पशुपालनका फार्म दर्ता भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *