काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उसरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताएका छन्।
पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उनले देशको समृद्धिका लागि सुशासन अनिवार्य शर्त रहेकाले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनले जनतालाई पनि सरकारले छिटोछिटो काम गरेर देशमा सुशासनका लागि काम गरोस् भन्ने अपेक्षा रहे पनि सबै घटनामा तथ्य प्रमाणले पुष्टि गरेपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।
उनले आफू कुन फाइल खोल्ने कुन नखोल्ने भन्ने मानसिकता बनाएर अगाडि नबढ्ने बताए । उनले भने,‘कुन फाइल खोल्ने नखोल्ने भन्ने मानसिकता बनाएर अगाडि बढ्दिनँ । अध्ययन-अनुसन्धान गर्दै जाँदा गडबडी छ भने लागेपछि खुल्न सक्छ । कुन खोल्ने भन्ने प्राथमिकता हुन्छ । तर हामी विश्राम लिँदैनौं ।’
उनले उद्योग व्यवसायी पक्राउ परे चर्को स्वरले कराइहाल्ने भन्दै आक्रोश व्यक्त गरे ।
‘उद्योग व्यवसायी पक्राउ परे चर्को स्वरले कराइहाल्ने । अर्थतन्त्रमा योगदान गरेकालाई कहाँ कारबाही गर्न हुन्छ भनेर दबाब दिने । कसलाई कारबाही गर्ने ? त्यो गरिब, सुकुम्बासी, मजदुर, पेटीमा बस्नेलाई कारबाही गर भन्ने हो ? हाम्रो नीति स्पष्ट छ – निर्दोष फस्नु हुँदैन, दोषीलाई कारबाही गर्नुपर्छ । ’उनले भने ।
श्रेष्ठले कानुनअन्तर्गत रहेर ठगी, जालसाजी गर्नेलाई दृढतापूर्वक कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘हामी राजनीतिक सौदाबाजी गर्दैनौं । जनताका अपेक्षा हुन्छन् । जनताको अपेक्षाका आधारमा कारबाही गर्न मिल्दैन । नक्कली भुटानी शरणार्थीमा जनतालाई फलानो पनि संलग्न छ, ल्याउनपर्छ भन्ने होला तर तथ्य र प्रमाणले पुष्टि गर्नुपर्छ ।’ उनले भने । आगामी २४ गते प्रधानमन्त्रीसहितको बैठक बसेर प्रहरी समायोजनको विषयमा समझदारी उनले बताए ।

Leave a Reply