शिन्तामणिको व्यवस्थापनपछि विश्वकै उत्कृष्ट होटलको सूचीमा पर्‍यो मुस्ताङ मोक्ष रिसोर्ट

काठमाडौं । मुस्ताङको जोमसोममा अवस्थित शिन्तामणि मुस्ताङ मोक्ष रिसोर्ट सन् २०२४ का लागि विश्वकै उत्कृष्ट र मन पराइएको होटलको सूचीमा परेको छ । नेशनल जोग्राफिकले विश्वका उत्कृष्ट र मन परेका होटलहरूको सूचीमा राखेको शिन्तामणि एसियाको पहिलो नम्बरमा परेको छ । नेशनल जोग्राफीले सन् २०२४ मा घुम्न र प्रकृति तथा पर्वतसँग रमाउन चाहनेहरुका लागि सो होटल सिफारिस गरेको हो । एसियाबाट अन्य दुई उत्कृष्ट होटलमा श्रीलंका र भुटानका छन् ।

स्थानीय ढुंगाबाट प्राचीन तथा परम्परागत डिजाइबाट बनाइएको सो शिन्तामणि मुस्ताङ रिसोर्ट संसारभरबाट हिमाली क्षेत्रका साथै गुम्बा र स्थानीय जनजीवनसँग घुलमिल गर्न चाहने पर्यटकहरूले सर्वाधिक रुचाइएकोमा परेको नेशनल जोग्राफिक डट कमले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त होटल ब्राण्ड शिन्तामणि २ वर्षअघि नेपाल भित्रिएको हो । यति वर्ल्ड ग्रुपको सहायक कम्पनी शेर्पा हस्पिटालिटीमार्फत मुस्ताङ्गको जोमसोममा सञ्चालित मोक्ष मुस्ताङ रिसोर्टको व्यवस्थापन सम्हाल्नेगरी शिन्तामणि नेपाल भित्रिएको थियो ।

शिन्तामणि विश्व बजारमा जंगलका बीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ब्राण्ड हो । १ अर्ब १० करोड रूपैयाँ लगानीमा निर्माण भई सञ्चालनमा मुस्ताङ मोक्ष रिसोर्टको व्यवस्थापन उसले सम्हालेपछि रिसोर्ट विश्वकै उत्कृष्ट गन्तव्यमा दरिएको यति ग्रुपको अफ कम्पनीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले बताए ।

नेपालमा रहेका होटल तथा रिसोर्टमध्ये सबैभन्दा महँगो होटलका रूपमा शिन्तामणि रहेको यसका सञ्चालकको दाबी छ । यो होटलमा एक रातकै १८ सय डलर तिर्नुपर्छ र यसले एक दिनको मात्र प्याकेज बेच्दैन । न्यूनतम तीन दिनमा एकजना पर्यटकले कम्तीमा ५ हजार डलर तिर्ने यो रिसोर्ट खर्चालु पर्यटक लक्ष्य गरी निर्माण गरिएको हो ।

शेर्पा हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत नाम्गेल शेर्पाले शिन्तामणि मुस्ताङले पर्यटकलाई प्रकृतिसँग नजिक राखेर बिदा मनाउने उत्कृष्ट गन्तव्यका रूपमा आभाष दिलाउन सफल बताए ।
संसारभरिका पर्यटकलाई थकाइ मार्ने मुख्य गन्तव्य जोमसोम बनाउने उद्देश्यले पाहुनाको यात्रालाई हिमालयमा सबैभन्दा उल्लेखनीय ३ सय ६० डिग्री, विलासी अनुभव प्रदान गर्ने थलोका रूपमा विस्तार गरिएको छ ।

समुद्र सतहबाट २ हजार ८ सय मिटर उचाइ तथा कालिगण्डकी नदीछेउ जोमसोममा रहेको होटलमा २९ कोठा छन् । होटलका कोठा अमेरिकी आर्किटेक्ट कम्पनी बेन्सलेकै डिजाइनअनुसार पुनर्निर्माण गरिएका छन् ।

photo courtesy shinta mani Facebook page.

Comments

One response to “शिन्तामणिको व्यवस्थापनपछि विश्वकै उत्कृष्ट होटलको सूचीमा पर्‍यो मुस्ताङ मोक्ष रिसोर्ट”

  1. Great Panorama Treks and Expedition Avatar

    Congratulations Sherpa Hospitality group and Yeti Group We are proud of you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *