सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम जलविद्युत क्षेत्रमा लगानी गर्ने कार्य सुरु

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तरगत योगदानकर्ताले जम्मा गरेको रकम जलविद्युत क्षेत्रमा लगानी गर्ने कार्यको सुरुवात गरेको छ । कोष र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)बिच मंगलबार सम्झौता भएसँगै जलविद्युत क्षेत्रमा लगानी गर्ने कार्यको सुरुवात गरेको हो ।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका उर्जा सचिव गोपालप्रसाद सिग्देलको उपस्थितिमा मंगलबार कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद गौतमबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा दुवै पक्ष आ–आफ्नो प्रचलित नीति, नियम तथा निर्णयको अधिनमा रहेर जलविद्युत तथा अन्य नविकरणीय उर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनामा सह–वित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्ने विषय उल्लेख गरिएको कोषका कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषमा हाल ४९ अर्व ७ करोड लगानीयोग्य रकम रहेको र उक्त रकम निरन्तर बढिरहेको भन्दै ऐनले तोकेको क्षेत्रमा सुरक्षित एवम् दिगो प्रतिफलयुक्त तरिकाले लगानी गरी योगदानकर्तालाई दिगो प्रतिफल दिन तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा रकम लगानी गरी आर्थिक विकाशमा टेवा पुर्याउन यो सम्झौता गरिएको कोषले जनाएको छ ।

नेपाल सरकारको स्वामित्व र नियन्त्रणमा रहेका एचआईडीसीएल आन्तरिक तथा बाह्य क्षेत्रबाट वित्तीय स्रोत परिचालन गरी जलविद्युत तथा अन्य नविकरणीय उर्जाको विकास, प्रसारण, वितरण तथा व्यापारसँग सम्बन्धित आयोजनामा ऋण तथा स्वपूँजी लगानी गर्ने कम्पनी हो । कोषको पूँजी र कम्पनीको विशिष्ट ज्ञानको फ्युजनमार्फत उर्जा क्षेत्रमा सिनर्जी प्रभाव सृजना हुने कुरामा विस्वस्थ भई यो सम्झौता गरिएको एचआईडीसीएल कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले बताए ।

‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७’ अनुसार कोषले सरकारी ऋणपत्रमा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी हुने विभिन्न किसिमका ऋणपत्र खरिद वा बिक्री गर्न सक्नेछ । त्यस्तै कोषले मुद्दती निक्षेपमा लगानी गर्न सक्ने, नेपालका (क) वर्ग र पूर्वाधार विकास बैंकमध्ये कोष सञ्चालक समितिबाट स्वीकृति प्राप्त बैंकमा लगानी गर्न सक्नेछ । यस्तै कोषले बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रलगायत कम्पनीमा सेयर लगानी समेत गर्न सक्ने व्यवस्था कार्यविधिमा छ । कार्यविधि अनुसार नै डिबेञ्चर लगानी, म्युचुअल फण्ड, व्यवसायिक आवास परियोजना, योगदानकर्ता सापटीमा पनि कोषले लगानी गर्न पाउनेछ । योगदानकर्ता सापटी अन्तरगत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी, योगदानकर्ता विशेष सापटी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *