भोजपुरका सुस्त श्रवण कौशिका र दालाक्पा- इशाराका भरमा नाचेर नृत्य प्रतियोगिताको फाइनलमा

टक्सार (भोजपुर) । इच्छाशक्ति भए अपांगतालाई जितेर केही गर्न सकिन्छ भन्ने उदाहरण भोजपुरका दुई सुस्त श्रवण बालबालिका बनेका छन् । उनीहरू जन्मजात नै बोल्न र सुन्न सक्दैनन् । प्राकृतिकरूपमा श्रवण क्षमता नभए पनि उनीहरूको जोश-जाँगर लाेभलाग्दाे छ ।
सदरमुकाममा सञ्चालनमा रहेको भोजपुर बहिरा आवासीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत् ९ वर्षीया कौशिका ल्वागुन र ११ वर्षका दालाक्पा शेर्पा अहिले ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ प्रतियोगिता र ‘भोजपुर गट ट्यालेन्ट’ गायन तथा नृत्य प्रतियोगितामा प्रतिस्पर्धामा छन् । विशेष शिक्षक सन्तकुमार तुम्बापोले उनीहरूलाई हौसला दिइरहेका छन् ।
‘दुवैजनाको कला देखेर हामी सबै हर्षित छौं, उहाँहरूको संघर्ष र लगनशीलताले नयाँ पाठ सिकाएको छ’, शिक्षक तुम्बापोले भने, ‘समाजमा लुकेका अन्य व्यक्तिलाई पनि यी दुई बालबालिकाको प्रतिभाले हौसला दिलाएको छ, मेरो पनि सुनाइमा समस्या छ, गीतहरू पटकपटक अभ्यास गर्छु, अनिमात्र गीत कण्ठ हुन्छ, कार्यक्रममा बजेको गीतको शब्द त्यति बुझ्दिन, तर सांकेतिक नम्बर र सूत्रले ‘स्टेप’ मिलाउने गर्छु ।’
बोल्न र सुन्नै नसक्नेलाई नाच्न सिकाएर प्रतिभाशाली बनाउने शिक्षक सन्तकुमारको मेहनतलाई सबैले प्रशंसा गरेका छन् । गीतसंगीत अनुसार शिक्षकको तुम्बापोको इशारामा कौशिका र दालाक्पा नाच्ने गर्छन् ।
षडानन्द नगरपालिका घर भएकी कौशिका भोजपुर गट ट्यालेन्ट प्रतियोगिताअन्तर्गत भएको फाइनलमा प्रवेश गरिसकेका छन् । दालाक्पा पनि पूर्वाञ्चल गट ट्यालेन्टका लागि फाइनल प्रवेश गरेका छन् ।
‘शिक्षकले गराएको अभ्यास र इशाराले यहाँसम्म आइपुग्नु बालबालिकाको प्रतिभा हो’, भोजपुर डान्स क्रुका सञ्चालक सुशन घिमिरे भन्छन्, ‘अन्य प्रतिस्पर्धीभन्दा उहाँहरू केहीमा कमी देखिनुभएको छैन ।’
दुई बालबालिकाको प्रतिभाले विद्यालय परिवारसँगै अरुमा हौसला थपेको प्रधानाध्यापक सरिता तामाङ्ग बताउँछिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *