‘स्टार्ट अप’ का लागि ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाइने, के-के छन् मापदण्ड ?

काठमाडौं । सरकारले नवप्रवर्तन (स्टार्टअप) का लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँ सम्म कर्जा प्रवाह गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ स्वीकृति गरेसँगै ३ प्रतिशत ब्याजदरमा कर्जा पाउन सक्ने भएको हो ।

बैंकले कर्जा प्रवाह गर्दा कम्तीमा ५ लाख रुपैयाँसम्मको हकमा एक किस्ता र २५ लाख रुपैयाँसम्मको हकमा तीन किस्तामा प्रवाह गर्नेछ ।

कर्जा प्रवाह गर्दा सेवा तथा प्रशासनिक शुल्क भने बैंकले ०.१ प्रतिशतसम्म लिन सक्नेछ । यस्तो कर्जा सरकारी स्वामित्वको वाणिज्य बैंकले प्रवाह गर्नेछन् ।

पहिलो किस्ताको रकम सम्बन्धित परियोजनामा लगाएको प्रमाण पेश गरेपछि बैंकले बाँकी किस्ता कर्जा प्रवाह गर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा परियोजनाको बिमा गर्नुपर्नेछ ।

कार्यविधि अनुसार १६ क्षेत्रको परियोजनामा कर्जा प्रवाह हुनेछ । जसमा कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित क्षेत्र, सहज र सुरक्षित यातायात तथा परिवहन रहेको छन् ।

यस्तै अटो मोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाह, खानी तथा खनिज अनुसन्धान र विकास, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित क्षेत्रका स्टार्टअपलाई मान्यता दिइने कार्यविधिमा उल्लेख छ ।

यस्तै फोहोर मैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित क्षेत्रमा पनि स्टार्टअप कर्जा लिन सकिने छ । स्टार्टअप कार्यविधि कार्यान्वयन गर्ने निकाय भने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानलाई तोकिएको छ ।

कर्जा लिएर नतिरे के हुन्छ ?

यदि स्टार्टअप कर्जा लिएर नतिरे उद्यमीको राहदानी रोक्का हुनेछ भने चल अचल सम्पत्ति खरिद बिक्री रोक्का हुनेछ ।

उद्यमीको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का हुनेछ भने सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता तथा अन्य सेवा सुविधाबाट वञ्चित गराइनेछ ।

तर तोकिएको अवधि भन्दा पहिले नै कर्जा चुक्ता गर्ने उद्यमीलाई भने कुनै पनि अतिरिक्त शुल्क लाग्ने छैन ।

Comments

One response to “‘स्टार्ट अप’ का लागि ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाइने, के-के छन् मापदण्ड ?”

  1. Mohan Avatar
    Mohan

    राम्रो काम। यसले उद्योयमशीलता रोजगारी स्रिजना गर्छ।ल्लो तहका जनतासम्म पुग्नुपर्यो जो आय आर्जनका स्रोतहरू खोजिरहेका छन्। जुन क्षेत्रमा कर्जा लिएको हो त्यहि क्षेत्रमा लगानी गरेको हुनुपर्यो। ठूला व्यवसायीले यसको दुरुपयोग गर्ने समभावना हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *