पूर्वअर्थमन्त्री वर्षमान पुनद्वारा लुम्बिनीलाई विश्वव्यापी बनाउन सुझाव

रुपन्देही । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।

लुम्बिनी पुगेका नेताद्वयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले स्वागत गरे ।

उपाध्यक्ष लामाले कोषको उपाध्यक्षमा नियुक्त भएदेखि गरेका कामहरूको जानकारी गराउँदै लुम्बिनीको विकासका निम्ति गरेका पछिल्ला प्रयासहरू जानकारी गराएका थिए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पुन र प्रतिनिधि सभाका पूर्वसभामुख घर्तीले मायादेवी मन्दिर अशोक स्तम्भ, पुष्करणी पोखरीको भ्रमण गरे ।

भ्रमणपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री वर्षमान पुनले लुम्बिनीबाट विश्वशान्ति र सहअस्तित्व सन्देश फैलाउन सकिने बताए । उनले नयाँ उपाध्यक्षका रूपमा डा. लामाको उपस्थितिले आशा जगाएको बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसको भ्रमणपछि लुम्बिनी अन्तर्राष्ट्रिय रूपमा प्रचार भएको बताए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पुनले लुम्बिनीको विश्वमाझ अझै प्रचार हुन नसकेको बताउँदै उपाध्यक्षसहितको टिमले त्यसलाई केही रूपमा अघि बढाएको समाचार सुनेको बताए ।

‘लुम्बिनी विश्वसामु चिनाउन सकिएको छैन । नयाँ उपाध्यक्षको कार्यकालमा विश्वसामु चिनाउन लाग्नुभएको छ, अझै लाग्नुहुनेछ’ उनले भने ।

उनले बुद्ध दर्शन शान्ति, मेलमिलाप र सहअस्तित्वको दर्शन रहेको बताउँदै गुटरेसले गरेको विश्व शान्तिको आह्वानको अर्थ रहेको बताए । उनले सबै धर्मका बीच सहअस्तित्वमा बस्नुपर्छ भन्ने सन्देश लुम्बिनीबाट दिन सक्नुपर्ने बताए ।

पुनसहितको टोलीले लुम्बिनीमा हालै दैनिक एक लाखसम्म दियो बाल्न मिल्ने दियो स्थलमा दियोसमेत बालेका थिए । त्यस्तै मोन्लम पुजामा समेत अवलोकन गरे । पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका सांसद दीपेन्द्र पुनको समेत सहभागिता रहेको थियो ।

उक्त अवसरमा उपाध्यक्ष डा। लामासँगै योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य श्याम रोक्काले पूर्वमन्त्री पुनसहितको टोलीलाई लुम्बिनीका बारेमा जानकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *