प्रयोग नहुने स्वास्थ्य सामग्री किनेर मधेश प्रदेशमा अर्बौंको अनियमितता, अख्तियारले थाल्यो छानबिन

काठमाडौं । मधेश प्रदेशका विभिन्न अस्पतालका लागि भनेर गरिएका स्वास्थ्य सामग्री खरिदमा अर्बौको भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासोका साथ आन्तरिक छानबिन अघि बढाएको छ ।

कोभिड महामारीदेखि हालसम्मका अधिकांश खरिदमा सेटिङ गरिएको र अनावश्यक सामान खरिद गराएर राज्यलाई अर्बौ घाटा पारेको विभिन्न उजुरीमाथि छानविन भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

मधेश प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यव्स्थापन केन्द्रले गरिद गरेका एक अर्बभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन भएकोमा अख्तियारले यसअघि नै छानविन थालेको थियो ।

अहिले तीनै प्रयोगविहीन उपकरणमा ‘रि एजेन्ट’को लागि फेरि सेटिङमा खरिद प्रक्रिया अघि बढाइएको छ । प्रयोगमै नआई थन्किएका उपकरणमा रि एजेन्ट गर्ने भनेर पुनः भ्रष्टाचार गर्न थालिएको उजुरीपछि अख्तियारले चासो दिएको हो ।

अनुसन्धानमा संलग्न एक अधिकारीले भने- सीमित आपुर्तिकर्तासँगको मिलेमतोमा विगत ७/८ वर्षदेखि मधेश प्रदेशको स्वास्थ्य सामग्री खरिदमा खुलेआम भ्रष्टाचार भएको देखियो । बर्दिबासबाट हेर्न सम्भव नभएपछि आयोगले विशेष टोली नै बनाएर छानबिन थालेको छ । यसमा मधेश सरकारका केही पदाधिकारी र मेडिकल उपकरण सप्लायरहरुको निकै डरलाग्दो सेटिङ देखिन्छ । अर्बौ भ्रष्टाचारको केस भएकाले अहिले नै सबै भन्न सकिन्नँ ।

उपकरण सप्लायर्स मध्येका एकजनाले प्रमुख आयुक्त प्रेम कुमार राईको समेत नाम दुरुपयोग गर्दै कसैले केही गर्न नसक्ने धम्की दिन थालेपछि आयोगले हालसम्मका सबै उपकरण तथा अन्य सामग्री खरिदको सबै विवरण निकालेर अनुसन्धान थालेको छ ।

हालैमात्र मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवसहितले काठमाडौंको सिंहदरवारनजिक बसेरा होटलमा सप्लायरसँग विशेष भेटघाट गरेको समेत जानकारी पाएपछि अख्तियारले निगरानीमा राखेको छ ।

महालेखा परीक्षकले समेत कोभिड महामारी यता केन्द्रले खरिदि गरेका एक अर्बभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन बनेकोमा प्रश्न उठाएको थियो । नचाहिएका र नेपालको प्रणालीले सपोर्ट नगर्ने सामान किन्न लगाएर भ्रष्टाचार गरिएको आशंकामा महालेखाले ध्यानाकर्षण गराएको छ ।

प्रदेशका तत्कालीन र हालका मुख्यमन्त्रीदेखि मन्त्री र आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुखसम्मले सिमित सप्लायरको सिण्डिकेट खडा गरेर कमिसनकै लागि कुनै औचित्यबिना खरिद गरेका १ अर्ब रुपैयाभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोग नभएर बिग्रिसकेका छन् । तीनै उपकरणका लागि रि एजेन्ट खरिद गरेर अर्को ठूलो भ्रष्टाचार हुन लागेपछि अख्तियारले गम्भीरतापूर्वक छानविन थालेको हो ।

केन्द्रले आर्थिक वर्ष ०७८/७९ मा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि विशेष परिस्थितिजन्य कारण देखाएर ३ करोड ७२ लाख ५० हजार रुपैयाँको अक्सिजन प्लान्ट र ट्यांक खरिद गरको थियो ।

तर उक्त प्लान्ट जडान नभई जनकपुरधामको कोभिड विशेष अस्पतालको प्रांगणमा बेवारिसे झै फ्याँकिएको छ । जबकि प्रतिष्ठानले विगतदेखि रहेको अर्को एक अक्सिजन प्लान्ट समेत उपयोगमा ल्याउन सकेको छैन ।

त्यसैगरी सप्तरीको भारदह, रौतहटको गौर, सिरहाको सिरहा, लहान लगायत विभिन्न ६ अस्पतालहरूमा हस्तान्तरण भएका २ करोड ६६ लाख ६८ हजार रुपैयाँका १६ थान हेमोडाइलाइसिस मेसिन पनि जडान नै नभई प्रयोगविहीन अवस्थामा रहेको रिपोर्ट आइसकेको छ ।

गौर अस्पतालमा एच.बी.ए वानसी मेसिन, सिरहा अस्पतालमा पूर्ण स्वचालित क्लिया मेसिनसहित प्रादेशिक अस्पताल जनकपुरधाममा हस्तान्तरण भएका डीआर एक्सरे मशिन प्रयोगविहीन भइ थन्किएका छन् ।

लहान अस्पतालका लागि केन्द्रले गएको वर्षमा खरिद गरेको ५० लाखभन्दा बढीको ३ थान हेमोडाइलाइसिस मेसिन र करिब एक करोड रूपैयाँ बराबरको २ थान इन्टिग्रेटेड वेस्ट म्यानेजमेन्ट सिस्टम मेसिन हस्तान्तरण गरिएपनि अस्पतालले जडान नगरी थन्क्याएर राखेको छ ।

आर्थिक वर्ष ०७८/७९ मै केन्द्रले सप्तरीको भारदह अस्पतालमा २ करोड ५८ हजार रुपैयाँको हेमोडाइलाइसिस मेसिन, बायोकेमेस्ट्री एनालाइजर, अक्सिजन कन्सनट्रेटर लगायतका १३ उपकरण खरिद गरी दिएकोमा हालसम्म जडान गरिएको छैन ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम अन्तर्गतको कोभिड अस्पतालका लागि केन्द्रले १८ करोड ३८ लाख ६१ हजार रुपैयाँको आईसीयू बेड खरिद गरेको थियो ।

Comments

One response to “प्रयोग नहुने स्वास्थ्य सामग्री किनेर मधेश प्रदेशमा अर्बौंको अनियमितता, अख्तियारले थाल्यो छानबिन”

  1. ksp pyl Avatar
    ksp pyl

    मधेशका नेतालाई संघियता चाहिएकै यसरी नै लुटन हो । अख्तियार पनि प्रदेशको छुट्टै चाहिन्छ भन्छन् अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *