बिरामीको शल्यक्रिया नगर्ने डा. रामेश कोइरालाको घुर्कीबारे गंगालाल अस्पताल ‘अनभिज्ञ’

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले भोलिबाट बिरामीको शल्यक्रिया नगर्ने घोषणा ट्विटरमार्फत गरेका थिए । तर, उनले यस विषयमा अस्पताललाई कुनै पनि औपचारिक सूचना वा जानकारी नदिएको बुझिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिललाई पठाएको एउटा पत्रलाई बहाना बनाएर कोइरालाले शल्यक्रिया नगर्ने घुर्की दिएका थिए । यस विषयमा गंगालाल अस्पताल स्रोतसँग बुझ्दा कुनै पनि जानकारी नरहेको बताइयो ।

अस्पतालका एक जिम्मेवार अधिकारीले नाम नखुलाउन आग्रह गर्दै भने, ‘उहाँले यो विषयमा हामीलाई केही पनि भन्नुभएको छैन । आज पनि आएर खुरुखुरु काम गरिरहनु भएको थियो । ट्विटरमा के के लेख्नुहुन्छ भन्ने हाम्रो सरोकारको कुरा होइन ।’

सांसद सुमनाले गत माघ ५ गते आफ्नो ट्विटमा एक अनलाइन मिडियामा प्रकाशित डा. मखनलाल श्रेष्ठको अन्तर्वार्ता शेयर गरेकी थिइन् । देश बाहिर काम गर्ने डा. श्रेष्ठले उक्त अन्तर्वार्तामा यदि सरकारले चाहे नेपाल फर्कने इच्छा व्यक्त गरेका थिए ।

उनले अन्तर्वार्तामा भनेका छन्, ‘म जर्मनीको काम छोडेर फर्किन तयार थिएँ । कोसिस पनि गरें । नेपाल आएर एक महिना गंगालाल तथा स्वास्थ मन्त्रालय धाएँ । मैले पुनः लोकसेवाबाट परीक्षा दिएर मेडिकल अफिसरबाटै काम शुरू गर्नुपर्ने भनिएपछि फेरि जर्मनी गएँ ।’

सोही अन्तर्वार्ता शेयर गर्दै श्रेष्ठले लेखेकी थिइन्, ‘फर्किने वातावरण बनाउनु पर्छ ।’

के कारणले हो, डा. कोइरालालाई सुमनाले यो अन्तर्वार्ता शेयर गरेको चित्त बुझेन ।

उनले ट्विटमार्फत डा. मखनलाल श्रेष्ठलाई गम्भीर आरोप लगाए ।

कोइरालाले ट्विट गर्दै लेखेका थिए, ‘२००२ मा म गंगालालको सर्जरी विभागको संयोजकमात्र थिएँ र हाम्रामा सो समय लोकसेवा वा मे.अ.बाटै जागीर गर्नु पर्दैनथ्यो । पछि डा.साहेब गंगालाल आउँदा स्वागत गरेर यहाँले अपरेसन गरेका चारै बिरामीको मृत्यु सहज मान्दियौं पनि । प्लिज्, म आज विभागीय प्रमुख यहाँलाई सो पद आजै छाड्छु । फर्किने हो ?’

‘गंगालालमा अपरेसन गरेको चारै बिरामीको मृत्युलाई सहज मानिदिएको’ डा. कोइरालाको अभिव्यक्ति निकै विवादित बन्यो । अस्पतालले नै विज्ञप्ति निकालेर यसको खण्डन गरेको छ । त्यसपछि सुमनाले पनि उक्त ट्विटको स्क्रिनसटसहित मेडिकल काउन्सिललाई पत्राचार गरिन् । ‘मृत्युलाई सहज रुपमा लिइएको’ यो विषयमा प्रस्ट पार्न माग गरिन् ।

सुमनाको पत्रले डा. कोइरालाको इगोमा आघात पर्न गयो । त्यसपछि उनले आइतबार आफूले बिरामीको शल्यक्रिया नगर्ने घोषणा गरे । सुमनाले आफूसित माफी माग्नुपर्ने डा. कोइरालाको अड्डी छ ।

कोइरालाले ट्विट गरेका छन्, ‘प्रिय हृदयरोगको अपरेसन गर्न मलाई छान्ने महानुभावहरू, मेराबारेमा रास्वपाकी आदरणीय सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलमा स्पष्टीकरण सोध्नुभएकाले सो मुद्दा किनारा नलागेसम्म नैतिक रूपले यहाँहरूको अपरेसन गर्न नमिल्ने हुनाले आइतबारदेखि अपरेसन गर्दिनँ । अरूसँगै गराउनु ल ! सरी !’

काउन्सिलको पत्रविना आइतबारदेखि कुनै पनि अप्रेशन नगर्ने घुर्की लगाइरहे पनि डा. कोइरालाले आज अस्पताल पुगेर काम गरेका छन् ।

सामाजिक सञ्जालमा लेखिएको व्यक्तिगत कुरालाई आधिकारिक नमान्ने अस्पताल स्रोतले बतायो । तर, साँच्चै शल्यक्रिया रोकेको खण्डमा कारबाही हुनसक्ने स्रोतको भनाइ छ ।

‘सामाजिक सञ्जालमा लेखिने कुरा उहाँका निजी विचार हुन् । हामीलाई मतलब हुँदैन । तर, उहाँले यहाँ आएर केही भन्नुभएको छैन । आफ्नो काम कन्टिन्यु गरिराख्नुभएको छ’, अस्पतालका अधिकारीले भने ।

विनाकारण अप्रेशन रोकेको अवस्थामा कारबाही हुने अस्पतालले जनाएको छ ।

कोइरालाले दिएको घुर्कीका विषयमा नेपालप्रेसले नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्टार डा. विश्वराज दवाडीलाई सम्पर्क गर्दा उनले बोल्न चाहेनन् ।

सुमनाले मेडिकल काउन्सिलको जवाफ मागेपछि रक्षात्मक बनेका डा.कोइरालाका समर्थकले ट्वीटरमा सांसद सुमना श्रेष्ठका व्यक्तिगत जीवनमाथि प्रहार गरिरहेका छन् । रास्वपा सभापति रवि लामिछानेप्रति आकामक बन्ने गरेका कोइरालाको ‘भर्चुअल जत्था’को आक्रमणको निशानामा सुमना परेकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *