अमेरिकामा के गर्दैछिन् राजेन्द्र लिङदेनकी छोरी ?

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीकी नेतृ रेखा थापा बच्चा पाउन अमेरिका गएको विषयबारे गरेको टिप्पणीले सामाजिक सञ्जाल तताइरहेको छ । रेखा स्वयम्ले आफ्नो पार्टीको अध्यक्षलाई काउन्टर गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखिन् ।

रेखाले लिङदेनको नाम उल्लेख नगरिकन लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो, अमेरिकामा किन राखेको ?’

रेखाले लेखेजस्तै लिङदेनकी छोरी समता लिङदेन केही वर्षदेखि अमेरिकामा छिन् । यद्यपि, उनी रेखाजस्तो बच्चा पाउनका लागि त्यहाँ पुगेकी भने होइनन् । समता अहिले अमेरिकामा वाणिज्यशास्त्र विषयमा मास्टर्स पहिलो वर्षमा अध्ययनरत छिन् । उनले ब्याचलरको अध्ययन पनि अमेरिकामै गरेकी हुन् । समताले अमेरिकामा काम गर्दै पढिरहेकी छन् ।

पारिवारिक स्रोतका अनुसार ब्याचलर सकेर समता नेपाल फर्किएकी थिइन् । त्यसपछि उनी पुन मास्टर्स पढ्न करिब डेढ वर्षअघि गएकी हुन् । गएको दशैंमा पार्टी कार्यक्रमका लागि लिङदेन आफ्नी पत्नी सहित अमेरिका गएका थिए । त्यसबेला छोरीसँग भेटेको तस्वीर अहिले सामाजिक सञ्जालमा कतिपयले सेयर गरिरहेका छन् ।

समता अध्ययन पूरा गर्नासाथ नेपाल फर्किने योजनामा रहेको आमा सिता थापा लिङदेनले बताइन् ।

‘छोरीको अमेरिकामा सेटल हुने कुनै पनि योजना छैन । पढाइ सकेर फर्किहाल्छु भनेकी छ,’ उनले नेपाल प्रेससँग भनिन् ।
लिङदेन दम्पत्तीका तीन सन्तानमध्ये समता जेठी हुन् । दुई छोरामध्ये एकजना डिल्लीबजारको ट्रिनिटी क्याम्पसमा र अर्को छोरा विद्यालयमा पढ्छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनताका छोराछोरी जसरी अमेरिका पढ्न जान्छन्, समता त्यसैगरि गएको बताए ।

उनले भने, ‘नेताको छोरी भनेर कुनै विशेष सुविधा पाएर गएकी होइनन्, अरु सरह नै गएकी हुन् । योग्यता र क्षमता भएका सबैले संसारको जुनसुकै युनिभर्सिटीबाट शैक्षिक डिग्री हासिल गर्न सक्छन् । यसमा राष्ट्रियताको प्रश्न जोडिँदैन ।’

पार्टी अध्यक्षले देशको दुरावस्थातर्फ ईंगित गर्दै भनेको कुरालाई कसैले व्यक्तिगतरुपमा लिनु आवश्यक नरहेको पनि उनको भनाइ छ ।

Comments

One response to “अमेरिकामा के गर्दैछिन् राजेन्द्र लिङदेनकी छोरी ?”

  1. bharat kumar Thapa Avatar

    सबका सब देश घाती के हाम्रा छोराछोरीले यो देशमा पढ्दा हुने राजा माहाराजाका बडा देश भाग शान्ति गर्नेका छोराछोरी विदेशमा नै पढ्नुपर्ने अनि राष्ट्रवादी रे लाजमर्दो कुरा छि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *